|

  • पदम बडाल

दार्चुला : लगातार परिरहेको वर्षाका कारण महाकाली नदीको जलस्तर र जलप्रवाह बढेपछि नदी किनारतिर निर्माणाधीन तटबन्ध भत्कन थालेको छ। चार वर्ष अगाडि आएको बाढीले बगाएको खलंगा बजारको रिङनताल रहेकै क्षेत्रमा यो पटक महाकालीले तटबन्ध भत्काउन सुरु गरेको हो।

१२ वटा  प्याकेटमा तटबन्ध बनाउने काम भइरहेको अवस्थामा रिङ्नताल क्षेत्रमा रहेको प्याकेज नम्बर १० मा राखिएको 'ग्रेभेटी रिटेनिङ वाल' भासिन थालेको छ। उक्त वाल भत्किएर महाकालीको बहाब बढेमा धेरै क्षति हुनसक्ने खतरा रहेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशिल देवकोटाको अनुमान छ।

‘महाकालीमा बहाव र पानी नबढ्ने हो भने त समस्या हुँदैन। तर वाल पनि ढल्यो र पानी पनि बढ्यो भने घाट बजार फेरी समस्यामा पर्न सक्छ,’ उनले भने।

रिङनताल क्षेत्रभन्दा उत्तरमा पर्ने प्याकेज नम्बर १० मा निर्माण गरिएको 'ग्रेभेटी रिटेनिङ वाल'को सपोर्टमा नदीमा रहेका ढुंगाहरु नदीको बहावले बगाएको छ। सपोर्टको अभाव हुँदा नदीको करेन्ट र पानीसँगै बगेर आएका ढुंगाले वालमा लगातार हान्ने गरेको तथा पानीले नदीको पिँध समेत कटान गरेकाले वाल भासिन सुरु भएको महकाली नदी नियन्त्रण आयोजना कार्यालयले जनाएको छ।

उक्त क्षेत्रमा काउन्टर 'रिटेनिङ वाल' राख्न ठाउँ नपुगेकोले 'ग्रेभेटी रिटेनिङ वाल' राखिएको थियो। ‘काउन्टर रिटेनिङवाल राख्न पाएको भए नदीले कटान गर्ने र भासिने सम्भावना कम हुने थियो’ आयोजना प्रमुख सुशिल देवकोटा भन्छन्,'तटबन्धको अन्य प्याकेज जस्तै ठाउँ नपुग्दा राखिएको ग्रेभिटी रिटेनिङ वालका कारण पनि नदीलाई कटान गर्न सजिलो छ।'

महाकालीको बहाव बढ्नु नै तटबन्धको उक्त प्याकेज भासिनुको प्रमुख कारण हो।  नदीपारी भारततिर गएको पहिरो तटबन्ध भासिनुको अर्को कारण हो। पारीतिर भारतको पिथौरागढ जिल्लाको खोतिल क्षेत्रमा गत वर्षको असोज २८ गते रातिबाट गएको पहिरोका कारण महाकालीको मूल प्रवाह नेपालतिर फर्किएको थियो।

तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको पहलमा पटक–पटक भारतीय समकक्षीलाई भेटेर भारततिरको पहिरो हटाउन आग्रह गरिएको थियो। भारतीय पक्षले पनि नेपालतिरको गम्भीर्यतालाई हेरेर तुरुन्तै पहिरो हटाउने जानकारी दिएको थियो। तर भारत सरकारले अहिलेसम्म पहिरो हटाएको छैन। नेपाल सरकारले पनि उक्त पहिरो हटाउन भारतीय पक्षलाई विशेष पहल गरेको छैन।

नेपालतिरको अवस्थाबारे भारतीय समकक्षीलाई जानकारी गराएको भएपनि वर्षामा पहिरो हटाउने कार्य सम्भव नै नभएको प्रमुख जिल्ला अधिकारी बासुप्रसाद कोइरालाले बताए।

भत्कन लागेको 'रिटेनिङवाल वाल' नदीमा परे पनि थप समस्या सिर्जना नहोस् भनेर निरन्तर काम गरिरहेको आयोजना प्रमुख देवकोटाको भनाइ छ। उक्त वाललाई पछाडिबाट धकेल्ने, ढुंगामाटो हटाउने र वाललाई कम क्षति पुगोस् भन्ने उद्देश्यले वाल वरपर ढुंगामाटो हटाउने काम भइरहेको उनले बताए।

प्याकेज नम्बर १० को 'ग्रेभिटी रिटेनिङ वाल' भासिएर नदीमा पस्यो भने चार वर्ष अगाडि महाकालीमा आएको बाढीले निम्त्याएको खतरा पुनः सिर्जना हुनेछ। यद्यपि उक्त प्याकेजभन्दा दक्षिणतिर १ किलोमिटर भन्दा बढी तटबन्ध निर्माण गरिएकाले पहिले जतिकै खतरा भने नहुने आयोजना प्रमुख देवकोटा बताउँछन्। तर घाट बजार र ग्रेभिटी रिटेनिङवाल राखिएका क्षेत्रमा भने समस्या दोहोरिने उनको भनाइ छ।

३ ठाउँमा अझै काम सुरु भएन, बल्ल टेण्डर आव्हान

भारततिर गएको पहिरो हटाउन पहल नभएको मात्रै होइन। उक्त पहिरो गएको वारी नेपालतिर केही ठाँउमा अझै पनि तटबन्ध राख्ने काम हुन सकेको छैन। १२ वटा प्याकेजमा काम सुरु भएपनि ३ वटा प्याकेजमा अझैसम्म टेण्डर आव्हान भएको छैन।

पहिरो गएको झण्डै ८ महिनापछि मात्रै वारितिर तटबन्ध राख्न टेण्डर आह्वान गरिने भएको छ। भारततिर पहिरो गएको ठाउँको ठिक वारीतिर तटबन्ध राख्न भन्दै मंगलबार (असार २६) मात्रै टेण्डर आह्वान गरिने महाकाली नदी नियन्त्रण आयोजना कार्यालयले जानकारी दिएको छ।

‘पहिरो गएको केही महिना मै तटबन्धका लागि टेण्डर आह्वान गरिएको भए अहिलेसम्म आधा काम सकिन्थ्यो र महाकालीले कटान गर्ने काम पनि सहजै गर्न सक्दैनथ्यो’ स्थानीय मदनसिह धामीले भने,'नेपाल सरकारले उक्त क्षेत्रमा तटबन्ध राख्न गरेको ढिलासुस्ती पनि तटबन्ध भासिनुको कारक हो।'

३७ करोड बढी खर्च ८ करोड माग

आयोजनाले १२ प्याकेजमा तटबन्ध निर्माण कार्य गरेबापत गत महिनासम्म ३७ करोड ५१ लाखभन्दा बढी खर्च गरिसकेको छ। यो वर्ष बाँकी कामका लागि ८ करोड माग गरिएको कार्यालयले जानकारी दिएको छ। भौतिक कार्य प्रगती भने ७० प्रतिशत मात्रै रहेको आयोजना प्रमुख देवकोटाले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.