|

रामपुर : ओखलढुंगाको रामपुरस्थित बरुणेश्वर सेवा समाजको अक्षयकोषमा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले १० लाख सहयोग गरेका छन्। मोलुङ गाउँपालिका-२ रामपुरमा तिहारको समयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गर्नेक्रममा गुरुङले आफूले १० लाख सहयोग गर्ने घोषणा गरेका थिए।

आफूले जनताका बीचमा गरेको वाचा पूरा गर्ने भन्दै गुरुङले बिहीबार रामपुरमा आयोजित कार्यक्रममा बरुणेश्वर सेवा समाजद्वारा स्थापित अक्षयकोषमा पूर्वमन्त्री गुरुङले १० लाख सहयोग गरेका हुन्।

कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका गुरुङले चेक हस्तान्तरण गर्दै आफू जनताको सेवामा जीवनभर लागिरहने बताए। निर्वाचनमा पराजित भए पनि आफू जनताको सेवामा नहारेको उनले बताए।

चुनाव जितेकाहरुले भन्दा बढी जनताको पक्षमा आफूले काम गर्नेसमेत उनले बताए। चुनाव जितेर सांसद बनेकाहरूले पनि अहिले चाहिने जति विकास बजेट ल्याउन नसकेको उनको टिप्पणी थियो।

अपाङ्गता एवं विपन्न नागरिक, प्राकृतिक प्रकोप पीडित र सहाराविहीनहरूलाई सहयोग गर्ने उद्देश्यले सेवा समाजले तोयानाथ काफ्लेको नेतृत्वमा संस्था दर्ता गरेर अक्षयकोष स्थापना गरेका हुन्।

बरुणेश्वर सेवा समाजले बिहीबार रामपुरमा अपाङ्गता भएकाहरुलाई सम्मानसहितको अक्षयकोष सार्वजनिक कार्यक्रम गरेको थियो। कार्यक्रममा मोलुङ गाउँपालिका–२ रामपुरका ४५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण र दाताहरुले अक्षयकोषमा दिने भनिएको रकम हस्तान्तरण गरिएको छ।

अक्षयकोषमा पूर्वमन्त्री गुरुङबाट १० लाख, एमाले नेता जिबी खड्काबाट १ लाख र तिहारमा देउसीभैलो कार्यक्रमबाट ८१ हजार जम्मा गरिएको रकम अक्षयकोषमा जम्मा भएको समाजका अध्यक्ष तोयानाथ काफ्लेले जानकारी दिए।

अक्षयकोषको ब्याजबाट अग्निपीडित, गरिब तथा विपन्न नागरिकहरुलाई सहयोग गरिने समाजको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.