|

  • कृष्ण कँडेल-

बागलुङः बागलुङमा एक सुत्केरीको उपचारको अभावमा मृत्यु भएको छ।

आइतबार बिहान २ बजे काँडेवास स्वास्थ्य चौकीमा छोरा जन्माएकी १९ वर्षकी मुना छन्त्याल दर्लामी एक घण्टापछि अचानक बेहोस भएर भुइँमा लडेकी थिइन्।
गलकोट नगरपालिका– ८ काँडेवास झरमौराकी छन्त्याल एक्कासि ‘मुटु दुख्यो’ भनेर बेहोस भएकी स्वास्थ्यचौकी प्रमुख मुकेशकुमार महतोले बताए।

‘पहिले राम्रै सुत्केरी हुनुभएको हो, अचानक बेहोस भएपछि हामीले थप उपचारका लागि सिफारिस गर्‍यौँ’, महतोले भने, ‘उहाँको मुटुको समस्या रहेछ, पछि मात्र आफन्तले भनेपछि हामीले थाहा पायौँ।’ बच्चा जन्माएपछि उनको सामान्य रक्तश्राव भएको उनले बाताए।

थप उपचारका लागि हटिया अस्पताल ल्याइपुर्‍याउँदा डाक्टरले उनलाई मृत भइसकेको बताएका थिए। छन्त्यालले जन्माएको शिशु भने स्वस्थ रहेको महतोले जानकारी दिए। उनका श्रीमान रोजगारीको सिलसिलामा कतारमा छन्। छन्त्यालले नियमित गर्भ जाँच गराउँदै आएको परिवारले जनाएको छ।

उपचारका लागि समयमै राम्रो अस्पतालमा लैजान नसक्दा छन्त्यालको मृत्यु भएको गलकोट नगरपालिका– ८ का वडा अध्यक्ष रामप्रसाद कँडेलले बताए।

‘गाउँघरमा सामान्य सुत्केरी गराउने व्यवस्था त छ तर अलि ठूलो समस्या आएमा उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान समय लाग्छ’, अध्यक्ष कँडेलले भने, ‘उनको पहिले पनि मुटुको समस्या थियो भन्ने कुरा सुनियो, उनी आफैँले समस्या लुकाइन् या परिवार समयमै सजग हुन सकेन।’ छन्त्यालका आफन्त रामबहादुर सारुले अवस्था थप गम्भीर बनेपछि अस्पताल लैजाँदा ढिलो भइसकेकाले ज्यानै गुमाउनुपर्ने अवस्था आएको दुखेसो पोखे।

‘पहिल्यै उनको मुटुको समस्या थियो, शरीरमा रगतको कमी पनि रहेछ क्यारे’, सारुले भने, ‘हाम्रो समाजमा गर्भवती तथा सुत्केरी जस्तो अतिसंवेदनशील अवस्थालाई त्यति गम्भीरतापूर्वक नलिने सोचका कारण पनि यस्ता दुखद् घटना हुने गरेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.