|

काठमाडौं : जाजारकोट र रूकुम पश्चिममा भूकम्प गएको तीन महिना बितेको छ। गत कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयहरुमा क्षति पुगेको थियो।

शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार उक्त भूकम्पबाट ४ जिल्लामा कुल ४३१ विद्यालयमा पूर्ण क्षति भयो भने १ हजार ३१८ विद्यालयमा आंशिक क्षति भएको छ।

१ हजार २९७ वटा कक्षा कोठा पूर्ण र ३ हजार ५९९ वटा कक्षा कोठामा आंशिक क्षति पुगेको छ। जसमध्ये जाजरकोटमा ३०९ वटा विद्यालय पूर्ण रूपमा क्षति र ७५१ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। ९०५ वटा कक्षा कोठा क्षतिग्रस्त भए भने २ हजार १०५ कक्षा कोठामा आंशिक क्षति पुगेको छ। 

यस्तै, रूकुम पश्चिममा १०५ विद्यालयमा पूर्ण क्षति र ४७४ विद्यालयमा आंशिक क्षति भएको छ। ‘कक्षा कोठाचाहीँ ३४७ वटामा पूर्ण क्षति पुग्यो, १ हजार ६२८ वटा कक्षा कोठामा आंशिक क्षति पुगेको छ,’ उनले भने।

उनका अनुसार बझाङमा ६ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ भने ३७ वटामा आंशिक क्षति पुगेको छ। त्यहाँ ४५ वटा कक्षा कोठामा पूर्ण क्षति भएको छ। १६६ कक्षा कोठा आंशिक क्षति भएको छ। बाजुरामा भने विद्यालयमा पूर्ण क्षति भएको छैन, ५६ वटा विद्यालयमा आंशिक क्षति भएको तथ्यांक छ। 

शिक्षा विकास तथा समन्वय इकाइ रूकुम (पश्चिम)ले अहिले नियमित पठनपाठन भइरहेको जनाएको छ। इकाइ प्रमुख ताराप्रकाश पुन मगरका अनुसार ६ वटा स्थायीय तहमा २१३ अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको छ।

‘अस्थायी सिकाइ केन्द्र बनेपछि नियमित पढाइ भइरहेको छ, सबै विधार्थीहरूमाझ पाठ्यपुस्तक पनि पुगिसक्यो,’ उनले थाहाखबरलाई भने।

रूकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा १३ र १४ मा अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठनमा सञ्चालन भइरहेको छ। वडा १३ को जनयुवा आधारभूत विद्यालय भल्माज्युला र वडा १४ को आदर्श माध्यमिक विद्यालय हल्देमा ती केन्द्रमार्फत पठनपाठन भइरहेको छ।

अस्थायी सिकाइ केन्द्रबाट विद्यार्थीलाई पठनपाठन गराउन निकै सहज भएको आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नरबहादुर ओलीले बताए। उनका अनुसार बुद्धिष्ट चार्टर्ड फाउन्डेशनको आर्थिक सहयोगमा भूकम्प प्रतिरोधी भवन निर्माण गरी विद्यार्थीको पठनपाठन अगाडि बढाएको हो।

उनले भने, ‘अस्थायी सिकाइ केन्द्र निर्माण गरी पठनपाठन गर्दा विद्यार्थीसँगै शिक्षकलाई पनि सहज भएको छ, चिसो समयमा पनि पठनपाठनमा समस्या भएको छैन, घामपानी र हावाहुरीबाट पनि सुरक्षित रहन सकिने भएको छ।’

उनका अनुसार चुजी चार्टर्ड फाउन्डेशनले २५ लाख रुपैयाँ खर्चेर आदर्श माध्यमिक विद्यालयमा ९ कोठाको अस्थायी सिकाइ केन्द्र निर्माण गरेको हो। विद्यालयलाई थप ९ कोठा आवश्यक भएको उनको भनाइ छ।

प्रत्येक कक्षा कोठा ४० देखि ५५ जना विद्यार्थी अट्न सक्ने क्षमताका छन्। केन्द्र निर्माणमा जस्तापाता, सिमेन्ट, फलाम, बोर्ड, पिफम र प्लाइउड प्रयोग गरिएको छ। अस्थायी सिकाइ केन्द्रले पढ्न सहज भएको सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रा बालिका मल्लले बताइन्।

उनले भनिन्, ‘त्रिपालमुनि बसेर पढ्न गाह्रो हुन्थ्यो, अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सुरू भएदेखि चिसो र हावाहुरीबाट बच्न सहज भएको छ, पक्की भवनमै बसेर पढेको जस्तो महसुस भएको छ।’

बालशिक्षादेखि कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा अहिले केही कक्षाका विद्यार्थीलाई खुल्ला आकाशमुनि चौरमा राखेर पठनपाठन भइरहेको सहायक प्रअ ओलीले जानकारी दिए। 

त्रिपालमुनि पढ्ने विद्यार्थीलाई समस्या

भूकम्प प्रभावित केही विद्यालयका विद्यार्थीहरू अझै पनि त्रिपालमुनि बसेर पढ्न बाध्य छन्। उनीहरूलाई भने समस्या भएको छ।

आठबीसकोट–१४ ज्यामिरकोटमा रहेको जनविकास माध्यमिक विद्यालयमा बालशिक्षादेखि कक्षा १० सम्मका ३ सयभन्दा बढी विद्यार्थी त्रिपालमुनि अध्ययन गरिरहेको उक्त विद्यालयका प्रधानाध्यापक दीपकसङ्गम थापाले जानकारी दिए।

यस्तै, आदर्श माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ओलीले विद्यालयमा शौचालय तथा पानीको अभाव हुँदा समस्या हुने गरेको बताए।

जाजरकोटमा पनि पठनपाठन नियमित

भूकम्पप्रभावित जाजरकोटमा पनि अहिले नियमित पठनपाठन भइरहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, सामाजिक विकास कार्यालय जाजरकोटले जनाएको छ।

सामाजिक विकास कार्यालय जाजरकोटका सूचना अधिकारी जगदीश न्यौपानेका अनुसार स्थानीय तह, विभिन्न संघसंस्थालगायतको पहलमा ३९३ अस्थायी सिकाइ केन्द्र आवश्यक रहेकोमा ३७० वटा निर्माण भइसकेको छ। यस्तै, शैक्षिक सामग्रीहरू पनि दिएका छन्।

‘केही समयअघि हामीले स्थानीय तहसँग यो तथ्यांक लिएको हो, अहिलेसम्ममा सबै सकेर २/३ वटामात्रै निर्माण गर्न बाँकी होला,’ उनले भने। उनले कहिलेकाहीँ हिमपात हुँदा भने समस्या हुने गरेको बताए।

‘समन्वय गरेर पठनपाठन भइरहेको छ तर कहिलेकाहीँ हिमपात पर्दा समस्या हुन्छ। तर घाम लागेकाले धेरै समय समस्या पर्दैन,’ उनले भने।

चैत १५ मै एसइई परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत १५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्नेगरि परीक्षा तालिका प्रकाशन गरिसकेको छ। उक्त समयमै भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रूकुम पश्चिममा पनि एसइई परीक्षा सञ्चालन हुनेछ।

जाजरकोटको सामाजिक विकास कार्यालयका सूचना अधिकारी न्यौपानेका अनुसार केही समयअघि बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा स्थलगत अवलोकनमै गएका थिए।

‘उहाँ आएर स्थानीय तह, विद्यालयसँग अन्तरक्रिया नै गर्नुभयो, स्थानीय तह र विद्यालयहरूले बरू बेलुकासम्म नै पढाउने भनेपछि चैत १५ बाटै एसइई परीक्षा सञ्चालन गर्ने सहमति भयो,’ उनले भने।

शिक्षा विकास तथा समन्वय इकाइ रूकुम (पश्चिम)का प्रमुख पुन मगरले पनि त्यहाँ चैत १५ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्नमा केही समस्या नहुने जानकारी दिए। ‘चैतसम्ममा सबै कोर्स सकिन्छ, त्यसैले एसइई परीक्षामा समस्या छैन, चैत १५ मै हुन्छ,’ उनले भने।

यस वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

विद्यालय पुनर्निर्माण भएन सुरू 

जाजरकोट र रूकुम पश्चिममा भूकम्प गएको ३ महिना बितिसक्दा पनि अझै विद्यालयको पुनर्निर्माणको काम भने थालिएको छैन। जाजरकोटको सामाजिक विकास कार्यालयका सूचना अधिकारी न्यौपानेले अझै विद्यालय पुनर्निर्माणको काम भने सुरू नभएको जानकारी दिए।

निर्माणको लागि पहल भने भइरहेको उनको भनाइ छ। शिक्षा विकास तथा समन्वय इकाइ रूकुम (पश्चिम)का प्रमुख पुन मगरले पनि रूकुम पश्चिममा अस्थायी सिकाइ केन्द्रबाट पढाइ भइरहे पनि अझे विद्यालय पुनर्निर्माण सुरू नभएको बताए।

शिक्षा मन्त्रालयले यी सबै क्षति भएका विद्यालय पुनर्निर्माण गर्दा ६ अर्ब ८४ करोड रूपैयाँ खर्च लाग्ने अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.