|

काठमाडौं : सिराहाको लहानका किसान रतन साह रंगीन काउली बेच्दा उपभोक्ताको प्रश्नको जवाफ दिएरै हैरान छन्। पाँच धुर बारीमा लगाएको रंगीन काउली लहान बजारमा बेच्न लैजाँदा हेर्नेको घुइँचो हुन्छ तर खरिद गर्न उपभोक्ता हिचकिचाउँछन्।

कसैले ‘स्प्रे’ गरेर रंगीन गरेको भनेका हुन्छन् भने कसैले रङ लगाएर यस्तो बनाइएको शंका गर्छन्। कतिपयले त धारामा लगेर काउली धुन पनि लगाएका छन्। सबै जाँच गरेपछि मात्र उपभोक्ताले रंगीन काउली किनेको अनुभव साहसँग छ ।  

भोजपुरको साल्पासिलिछो गाउँपालिकाका सुरेन्द्र तामाङले पनि आफ्नो बारीमा रंगीन काउली लगाएका छन्। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपालमा रंगीन काउलीबारेमा हालसम्म कुनै अनुसन्धान नभएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी अध्यक्ष डा. ध्रुवराज भट्टराईले बताए। ‘अरू काउलीभन्दा रंगीन काउलीमा पोषक तत्व बढी हुन्छ । यसमा ‘एन्टिओक्साइडेन्ट’ पनि उच्च हुन्छ’, उनले भने, ‘रंगीन काउली क्यान्सरका बिरामीका लागि निकै उपयोगी हुन्छ।’ ठूला तारे होटलमा कहिलेकाहीँ यस्तो काउली देखिन्छ तर बजारमा भने भेटिँदैन। कतिपय देशमा यसको उत्पादन र बजार राम्रो रहेको उनले बताए। 

राष्ट्रिय बागवानी अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत नवीनगोपाल प्रधानले पनि नेपालमा रङ्गीन काउलीबारे कुनै अध्ययन अनुसन्धान नभएको बताए । ‘धेरै पहिले जर्मनीबाट एक विदेशीले बिउ ल्याएर दिएका थिए । त्यसलाई फार्ममा लगाए पनि हाइब्रिड भएकाले बिउ बनाउन सकिएन’, उनले भने। त्यसपछि यसबारे कुनै अध्ययन अनुसन्धान नभएको उनले जानकारी दिए। 

नेपालको हावापानीमा रंगीन काउली राम्रोसँग उत्पादन गर्न सकिने तर उपभोक्ताले रुचाउँछन् कि रुचाउँदैनन् भन्नेमा दोधार रहेको उनले बताए। काउलीमै पीएचडी गरिरहेका अधिकृत प्रधानले ‘मार्केट ट्राई’ नै गर्नुपर्ने तर्क गरे। 

अनुसन्धान केन्द्रका प्रमुख अमर पुनले पनि रंगीन काउलीबारे कुनै अध्ययन नभएको बताउनुभयो । हालै सुपरी अर्ली जातका काउली, तराई १, २ गरी तीन वटा काउलीको अनुसन्धान भएको तर रंगीन काउलीका लागि स्रोत नै नभेट्टाएपछि अनुसन्धानतिर ध्यान नगएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.