|

काठमाडौं : माओत्से गुरुङ कुशल चरित्र अभिनेता हुन्। नेपाली नाट्य होस या चलचित्र क्षेत्रमा उनले आफूलाई स्थापित गराए। उनको अभिनय र उनले निर्वाह गर्ने चरित्रले चौतर्फी चर्चा बटुलेको छ।

उनै माओत्सेले निर्देशन गरेको नेपाली चलचित्र शुक्रबारबाट देशभर र विदेशका प्रदर्शनमा आएको छ। गुरुङ भाषामा ८ भन्दा बढी चलचित्र निर्माण निर्देशन गरेका माओत्सेले नेपाली भाषामा भने यो पहिलो चलचित्र निर्देशन गरेका हुन्।

उनले चलचित्रमा के देखाउन खोजेका छन्? आउनुस एकछिन चलचित्रको कथामा जाऊँ :

उत्तरमा लहरै अन्नपूर्ण हिमश्रृंखला देखिन्छ। छेउमा छ कास्कीको मादी गाउँपालिका। त्यही गाउँपालिकाको एक कुनामा याङ्जाकोट गाउँ छ। जहाँ चित्रजंग गुरुङ(दयाहाङ राई) को रैथाने परिवार छ। बुबा बिरामी परेर थला परेका छन्। चित्रजंगको श्रीमती छिन् दयारानी (दिया पुन)। मुखिया विरासतका कारण उसँग प्रशस्त जग्गा जमिन छ। आर्थिक रूपमा उ उच्च वर्गको हो।  उसलाई खान लगाउन दु:ख छैन। दिनभर भरुवा बन्दुकले चरालाई निसाना लगाउँछ। साँझ नित्य रक्सी पिउँछ।  चरा मार्नु उसको शोख हो। तर, आजभोलि रक्सी पिउनु बाध्यता बनेको छ।

बिहे गरेको पाँच वर्ष भइसकेको छ।  समाज र परिवारको एकोहोरो दबाबले दयारानीलाई हरहालतमा बच्चा चाहिएको छ। आमा बन्ने सौभाग्य र खुशी उसको दोस्रो प्राथमिकता हो। पहिलो प्राथमिकता भनेको समाजलाई जवाफ। बच्चा जन्माएर समाजलाई उसले कडक जवाफ दिनुछ, ‘लु हेर मेरो बच्चा। म पनि आमा बन्न सक्षम छु।‘

दयारानीका फुपाजु(गुरुङ समुदायमा फुपू चेला र मामा चेली सोल्टी, सोल्टिनी (ङोलो ङोल्स्यो) बीच विवाह गर्ने हक लाग्छ। यसकारण दयारानीको बिहे फुपुको छोरासँग भएको हो ) आफ्नो वंश विस्तार नहुने कुराले बिरोलिरहन्छ।

उनी बुहारीलाई खुबै माया गर्छन्। आफ्नो स्वास्थ्यको ख्याल राख्ने बुहारीलाई बच्चा नजन्माएकोमा हेलाँ भने गर्दैनन्। उनी बस यति भन्छन्, ‘जवानीमा थुप्रै दुई जिउका जनावरहरू मारे। यसैको पापले गर्दा तिम्रो बच्चा भएन।‘ उनी बुहारीले सन्तान जन्माउन नसकेको दोष आफूले गरेको कर्मको प्रतिफल मान्छन्।

दयारानी श्रीमानसँग बच्चाको खोजी गरिरहन्छे। चित्रजंग पनि बच्चा चाहन्छ। तर, कमजोरी कसमा छ? निर्क्यौल भइसकेको छैन। एक साँझ दयारानीले श्रीमानलाई फकाउँछे। उपचारका लागि तयार बनाउँछे।

पोखराबाट करिब २५ किलोमिटर रहेको उक्त ठाउँमा स्वास्थ्य सेवा पुगेको छैन। पोखरा एक मात्र विकल्प हो। पोखरामा स्वास्थ्य परीक्षण हुन्छ। चिकित्सकले चित्रजंगलाई भन्छन्, ‘तिमी बच्चा जन्माउन अयोग्य छौ।’

पहिलोपटक उसको पुरुषत्वमाथि घन वर्सन्छ।

घर फर्केपछि आफ्नो स्वास्थ्य रिपोर्टबारे दयारानी श्रीमानसँग जान्न खोज्छे। अब चित्रजंगसँग जवाफका लागि दुई विकल्प छन्। 

सत्य र झुट। 

सत्य बोल्दा आफ्नो पुरुषत्वमाथि प्रश्न आउँछ। यसकारण उसले दोस्रो विकल्प रोज्छ।  त्यस साँझ चित्रजंग बोल्दैन, मात्र उसको पुरुष अंहकार बोल्छ, ‘समस्या तेरोमा छ। अब तँ कहिल्यै आमा बन्न सक्दिनस्।‘

महिला आफ्नो पीडामा आँशुको साहरा लिन्छन् अरे। ज्यादातर पुरूष भने मदिराको सहारा लिन्छ। त्यसदिन देखि चित्रजंगको रक्सी पिउने ग्राफ बढ्छ। दयारानी आँशुसँग दुख साट्छे।

गाउँघरतिर एउटा भनाइ चर्चित छ। त्यो भनाइमा सत्यता कति छ? पंक्तिकारलाई थाहा छैन। तर, उसले गाउँका आमा काकीहरूबाट यो भनाइ धेरैपटक सुनेको छ। त्यसैले उक्त भनाइ यहाँ समेट्ने हिम्मत राख्यो, ‘एउटा महिला बरु विधुवा हुन तयार हुन्छे। तर सौता व्यहोर्न तयार हुँदिन।‘

दयारानीले यो भनाइलाई गलत सावित गरिदिई। परिवारमा बच्चाका लागि उसले श्रीमानको लागि दोस्रो बिहेको विकल्प खुला गरिदिन्छे। आफ्नो श्रीमान बाँड्न ऊ तयार छे।

चित्रजंग पनि आफ्नो श्रीमतीसँग औधी प्रेम गर्छ। उसले दोस्रो बिहेबारे कल्पना गर्न सक्दैन। उसले भन्छ, ‘सन्तान चाहिएको भए अनाथ आश्रमबाट ल्याएर पालौँ। तर दोस्रो बिहे गर्न सक्दिनँ। म एक नारी ब्रह्मचारी हुँ।‘ यहाँनेर उसको यो आदर्श फेल खान्छ, किनभने उसले यसअघि नै आफ्नै श्रीमतीसँग माफी अयोग्य झुट बोलिसकेको छ।

दयारानी आफ्नो श्रीमानको दोस्रो बिहेको लागि आफ्नो जन्मघर पुग्छे। उसका बुबा पनि ज्वाइँका लागि दोस्रो बिहेका लागि तयार हुन्छन्।  तर, कहाँ खोज्ने?

दयारानीको बैनी छ काशी(नयन गुरूङ)। दयारानीले आफ्नी बैनीलाई नै विहेको प्रस्ताव राख्दै भन्छे, ‘आजसम्म मेरा कुरा सबै तेरा भए। हामी कपडा बाँडेर लगायौं। खानेकुरा बाँडेर खायौं। अब मेरो घर इज्जत राख्ने जिम्मा पनि तेरो हो। भिनाजुसँग बिहे गर। यसका लागि मैले गर्नुपर्ने सबै त्याग गरिदिन्छु।‘

काशी फरासिली स्वभावकी केटी हो। बाटोमा भेट्दा भिनाजुलाई पनि कान्छी बनाउने हो भन्दै जिस्काइरहन्छे। जिस्किरहने उसको स्वभाव हो। जिस्किनु र कान्छी बन्नु फरक कुरा हो। वास्तविकता यो हो कि  उ कसैलाई प्रेम गर्छे। दिदीको प्रस्ताव उसलाई मान्य छैन। उसले दिदीको घरको इज्जत धान्ने ठेक्का लिएकी छैन, उ बच्चा जन्माउने मेसिन पनि त होइन, आफ्नो जिन्दगीको मालिक आफै हो भन्ने कुरामा स्पष्ट छे।  दिदीले बिहेको प्रस्ताव राखेको केही दिनमा चित्रजंगकै सहयोगमा काशी प्रेमीसँग भाग्छे।

बिहे गर्ने विकल्प नै अर्कोसँग भागेपछि चित्रजंग खुसी छ। चित्रजंगको मितज्यू (विजय बराल) छ। उ गुरुङ समुदायको होइन। तर गुरुङ समुदायको संस्कार उसले जानेको छ। चार सन्तानको बाउ भए पनि आवारा छ। चुक्ली लगाउनुको उसको बानी हो। उ गाउँभरका बोकालाई खसी बनाउने काम गर्छ। रक्सी भनेपछि मरिहत्ते गर्छ।

हरेक दुखसुख सुनाउने मितज्यूलाई पनि चित्रजंगले आफ्नो सत्यता सुनाउन सक्दैन।  म त पुरुष हुँ भन्ने अहमले चित्रजंग झुट बोल्न अभिशप्त छ। चित्रजंगको एक झुटले निर्माण भएका दु:ख अझै सकिएका छैनन्।

मामाले नै चित्रजंगको सम्पतीलाई देखाएर दुई गाउँ परका संगीतासँग बिहेका लागि राजी गराउँछन्। नयाँ दुलही घर भित्र्याउने दिन नयाँ ट्विस्ट सुरू हुन्छ।  नन्दिता (श्रीसा कुँवर) को पेटमा  हुर्किएको बच्चा चित्रजंगको हो भन्दै घरमा आउँछे।

त्यो बच्चा चित्रजंगको हो? 

चित्रजंगले आफूमा सन्तान जन्माउने क्षमता छैन भनेर सत्य स्विकार गर्छ?

कि चिकित्सकले नै गलत रिपोर्ट दियो?

नन्दीताको पेटमा हुर्किरहेको बच्चाको बुबा को हो? यसका लागि भने हलसम्म नै पुग्नुपर्छ।

हाम्रा समाजमा अंहकारी चित्रजंगहरू प्रशस्तै छन्। उनीहरूको जन्म किन भइरहेको छ? यसका लागि औंला  पितृसत्ता तर्फ फर्कन्छ।  पितृसत्ताको संरचनाले ​ महिलामाथि अन्याय त गरेकै छ भने पुरुष पनि अछुतो राखेको छैन। पुरुषलाई सत्य बोल्न नसक्ने बनाइदिएको छ। यहाँनेर भुल्न नहुने कुरा के भने धेरै चित्रजंगहरू पितृसतात्मक समाजको कारण पिल्सिनु परेको छ। 

चलचित्रमा दयारानीको कथा भनिरहँदा आफ्नो परिवारको इज्जतका लागि महिलाले कुन हदमा त्याग गर्न सक्छन्?  चित्रजंगको कथा भनिरहँदा आफूलाई ‘मर्द’ देखाउन पुरुषले कुन हदसम्म पुगेर झुट खेती गर्छ र त्यो झुटलाई बरकरार राख्न कति गिर्न सक्छ भन्ने कुरा जीवन्त चित्र देखाउन चलचित्र सफल भएको छ।

दुई वटा गीत रहेको चलचित्रमा समाजको दबाब, आमाबुबाको इज्जत, श्रीमानमाथिको विश्वास, 'मर्दपन'को पहिचान जोगाउन पुरुषको हर्कतलाई मिहिन ढंग उठान गरिएको छ। चलचित्रमार्फत निर्देशकले समाजका  समस्या देखाउने चेष्टा गरेका छन्। जस्तो की मितज्यूको चार बच्चा छन्। उसको श्रीमती गर्भवती छे। अहिले पनि नेपालमा धेरै गाउँमा स्वास्थ्य सुविधा पुगेका छैनन्। जसले गर्दा हर महिला चाहेर वा नचाहेरै बच्चा जन्माउन बाध्य छन्।

सम्पत्ति नै खुसी प्राप्त हुने आधार हो भन्ने नकरात्मक बुझाइले एउटा गरिब पिताले आफ्नो छोरीको जिन्दगी मुखियाको छोरालाई सुम्पन तयार छ।  बाको खुसीका लागि बिना कुनै संकोच विवश छोरीहरू पनि बिना सुझबुझ आफूलाईसुम्पिन तयार छन्। 

गुरूङ संस्कार र संस्कृतिमा आधारित रहे पनि यो चलचित्रले आम नेपाली समाजलाई समेट्ने कोशिष गरेको छ।

चलचित्रका मुख्य पात्र दयाहाङ राईको अभिनयमा तात्त्विक फरक छैन। यसअघि आएका चलचित्रमा उनी जस्ता थिए, त्यसैको निरन्तरता चलचित्रमा छ। 

दिया पुनले आफ्नो भूमिका अब्बल बनाउन मिहिनेत गरेकी छिन्।

दुई घण्टा बढी समयको फिल्ममा कमजोरी नै छैनन् भन्ने होइन। यहाँ हरेक मान्छेका हेर्ने आ-आफ्ना दृष्टिकोण छन्। चलचित्रका सवल र दुर्वल पक्ष छुट्टाउन दर्शक आफैँ स्वतन्त्र छन्।   

यसै पनि  निर्देशक माओत्सेले भनेका छन्, ‘समाजमा हुने घटनालाई कथा बनाएर बिना कुनै तामझाम सरल तरिकाले प्रस्तुत गर्न खोजेको छु। चलचित्र कमजोररहित छ भन्दिनँ तर दर्शकले मबाट जे अपेक्षा गर्नुभएको छ। त्यसैको निरन्तरता नै यो चलचित्र हो।‘

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.