|

काठमाडौँ : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले आन्तरिक तथा वैदेशिक लगानी आकर्षण गर्न सरकारले नीतिगत स्थिरता कायम गर्न आवश्यक रहेको बताएका छन्।

शनिवार काठमाडौँमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औँ साधारणसभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष अग्रवालले यस्तो बताएका हुन्। उनले मुलुकभित्र वैदेशिक वा आन्तरिक लगानी बढाउन नीतिगत स्थिरता अनिवार्य शर्त भएको दाबी गरे। उनले सरकारका नीति तथा कानून लगानीलाई निरुत्साहनभन्दा पनि प्रोसाहन गर्ने खालका हुनुपर्ने बताए।

उनले सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं व्यावहारिक रूपमा कानून सुधार गर्न आवश्यक देखिएको उल्लेख गरे। उनले मुलुकभित्र भारत सीमा नाकामा अवैध पैठारी बढेको भन्दै नियन्त्रण गर्न सरकार कठोर बन्न आवश्यक रहेको बताए। उनले अवैध कारोबारका कारण सरकारले राजस्व पनि गुमाइरहेको बताए।

अध्यक्ष अग्रवालले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक क्षेत्रमा सुधार आउन नसकेको दाबी गरे। चालू आवको पहिलो तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लिएको खुकुलो नीतिका कारण अर्थतन्त्रका केही क्षेत्र सामान्य चलायमान हुन खोजे पनि अर्थतन्त्र पूर्णरूपमा चलायमान हुन नसकेको जिकिर अग्रवालको छ।

उनले भने, ‘मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार भए पनि आन्तरिक क्षेत्रमा सुधार आउन सकेको छैन। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लिएको खुकुलो नीतिका कारण अर्थतन्त्रका केही क्षेत्र सामान्य चलायमान हुन खोजेको जस्तो देखिन्छ तर अर्थतन्त्र पूर्ण रूपमा चलायमान हुन थप सुधार आवश्यक छ।’

उनले अर्थतन्त्र चलायमान बनाउन उद्योगी व्यवसायीले भोग्दै आएको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो हुनुपर्ने, विकास निर्माणका गतिविधि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले सरकारले पुँजीगत खर्च बढाई अर्थतन्त्रलाई गतिशील बनाउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.