गुल्मी : निर्वाचनका वेला नेताहरुले अनेक वाचा गर्दै भोट माग्ने तर जितेर गएपछि सबै बिर्सिने गरेको तितो पोखेका छन्। गाउँका समस्या समाधान गर्न जितेर गएका नेताले माखो नमार्ने र आफूहरुलाई सधैँ भोट बैंकमात्र बनाउने गरेको यहाँका स्थानीयको गुनासो छ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को माथिल्लो बस्तीका बासिन्दाले वर्षौंदेखि झेल्दै आएको खानेपानीको समस्या जस्ताको तस्तै छ। उनीहरु गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन्।
देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरु गाडीबाट पानी ढुवानी गरेर पिउने गरेका छन्।
वर्षायाममा चिडियारको मूलबाट पानी पिउने गरेका स्थानीय हिउँद लागेपछि मुहान सुक्दै जाँदा गाडीबाट पानी ढुवानी गरेर पिउन बाध्य भएको स्थानीय युवा तिलक रानाले गुनासो गरे।
स्थानीय सरकार र सम्बन्धित निकायले समस्या समाधानका लागि पहल नगर्दा अझै कहिलेसम्म पानी ढुवानी गरेर पिउनुपर्ने हो भन्दै उनले प्रश्नसमेत गरे।
एक पटक गाडीमा पानी ल्याउँदा गाडीलाई १ हजार ५ सय रुपियाँसम्म तिर्नुपर्ने अवस्था रहेको र पानी पनि तेल जस्तो गरी प्रयोग गर्नुपरेको यहाँका स्थानीयको भनाइ छ।
यस्तै कालीगण्डकी २ कोटका लक्ष्मीपति न्यौपानेले पिउने पानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताए।
यहाँका करिब एक सय घरधुरीहरुले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन्। नेताहरुले निर्वाचनमा पानी खुवाएरै छाड्छौं भन्ने र निर्वाचन जितेपछि सबै बिर्सने समस्या रहेको स्थानीयहरुले दुखेसो गरेका छन्।
बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाई डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ।
ठोटनेरी खोलाबाट लिफ्टिङ गरेर पानी खुवाउन अघिल्लो वर्षको बजेटबाट ट्यांकी निर्माण भएको कार्यालयका प्रमुख अनुजकुमार उपाध्यायले बताए। यस वर्ष १५ लाख बजेट भएको र उक्त वजेटले यस वर्ष पनि योजना सम्पन्न गर्न नसकिने उनको भनाई छ।
त्यहाँको समस्याबारे आफू जानकार रहेको बताउँदै १५ लाखको बजेटबाट विद्युतीकरण गर्न काम अगाडि बढाएको कार्यालयले जनाएको छ।
यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले देउराली र कोटमा रहेको बस्तीलाई खानेपानी खुवाउन आफूले प्रयास गरेको दावी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।