|

मोरङ : स्थानीय तहको निर्वाचन सकिएपछि  स्थानीय तहका कार्यपालिकाहरुको निर्वाचन भइरहेको बेला मोरङको जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस विरुद्ध चार दलको गठबन्धन तयार हुने भएको छ।

जिल्लाका बहुमत स्थानीय तहमा प्रमुख जितेको नेपाली काँग्रेसलाई बाहिर राख्ने रणनीतिसहित नेकपा एमाले, माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमले गठबन्धन गरेका हुन्। 

मोरङमा कांग्रेसले विराटनगर महानगरपालिकासहित ९ स्थानीय तहमा प्रमुख र ४ स्थानीय तहको उपप्रमुख जितेको छ। एमालेले ५ स्थानीय तहमा प्रमुख र ९ स्थानीय तहमा उपप्रमुख जितेको छ। यस्तै नेपाल लोकतान्त्रिक फोरमले १ प्रमुख र २ उपप्रमुख तथा माओवादी र संघीय समाजवादीले १÷१ तहका प्रमुख र उपप्रमुख जितेका छन्।

मोरङका १७ तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष गरी ३४ जनाले मतदान गर्ने जिल्ला समन्वय समितिमा कुनै एक दलको बहुमत नहुने पक्का भएका कारण चार दलले गठबन्धन बनाएका हुन्। जिल्ला समन्वय समितिको लागि मतदान गर्ने अधिकार भएका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्ष एमालेका १४ जना, कांग्रेसका १३ जना, लोकतान्त्रिक फोरमका ३ जना, माओवादीका २ जना र संघीय समाजवादीका २ जना छन्।

समन्वय समितिको लागि बहुमत पुग्न १८ मत आवश्यक रहेकोमा चार दलबीचको गठबन्धनमा २१ मत पुगेको छ। गठबन्धनको मत तलमाथि नभएमा समन्वय समितिमा सबै पदाधिकारी गठबन्धनबाटै निर्वाचित हुने निश्चित छ। 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र समन्वय समितिको निर्वाचन हुने संविधानमा व्यवस्था छ। सभापति, उपसभापति र ७ सदस्य रहने जिल्ला समन्वय समितिको सभापतिसहित एक सदस्य नेकपा एमालेले लिने सहमति चार दलबीच भएको छ।

बुधबार विराटनगरमा भएको चार दलको बैठकले गरेको सहमति अनुसार समन्वय समितिको उपसभापति माओवादी केन्द्रले पाउनेछ। त्यस्तै, फोरम लोकतान्त्रिकले ३ सदस्य र संघीय समाजवादी फोरमले ३ सदस्य लिनेछन्।

कार्यकारी अधिकार नभएपनि जिल्लाका स्थानीय तहरुबीच समन्वय गर्नेगरी संविधान अनुसार समन्वय समिति सक्रिय हुनेछ। समन्वय समितिको सभापतिमा नेकपा एमाले मोरङका पूर्वसचिव नरेश पोखरेललाई चार दलीय गठबन्धनले अघि सारेको छ। 

पोखरेल विराटनगर १२ बाट वडा सदस्यमा निर्वाचित भएका छन्। एमालेले समन्वय समितिको सभापति बनाउनकै लागि पोखरेललाई वडा सदस्यको उम्मेदवार बनाएको थियो। 

जिल्ला समन्वय समितिको उपसभापति माओवादीले पाउने सहमति भएपनि  कसलाई उम्मेदवार बनाउने निर्णय हुन बाँकी रहेको माओवादी केन्द्र मोरङका इञ्चार्ज कुशल लिम्बूले जानकारी दिए। माओवादीले उपसभापतिमा महिलालाई अघि सार्ने बताएको छ। केही दिनभित्र बैठक गरी उपसभापति उम्मेदवारबारे निर्णय गर्ने माओवादीले जनाएको छ। 

समन्वय समितिको सभापति, उपसभापति र सदस्य बन्न हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा विजयी भएको हुनुपर्छ। समन्वय समितिमा निर्वाचित भएपछि अहिलको पद भने स्वतः रिक्त हुनेछ।

चार दलबीच भएको सहमतिमा एमाले मोरङका अध्यक्ष विनोद ढकाल, माओवादी केन्द्रका इञ्चार्ज कुशल लिम्बू, फोरम लोकतान्त्रिकका अध्यक्ष भक्ति माझी, संघीय समाजवादीका  अध्यक्ष राजकुमार यादव लगायतको हस्ताक्षर छ। दलहरुले आगामी दिनमा जिल्लाका राजनीतिक निर्णयहरु सहमति र सहकार्यको आधारमा गर्ने सहमति समेत गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.