|

काठमाडौँ : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको १० दिन बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। 

सूचनामा भनिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको निर्णयबमोजिम मिति २०८०।१०।२५ को गोरखापत्र दैनिकका साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगको वेबसाइटमा दरखास्त आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएकोमा सिफारिस समितिको मिति २०८०।११।६ को बैठकले हाललाई दरखास्तसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गरेको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’ 

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल फागुन १७ गते र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल फागुन १८ गते सकिँदै छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको कार्यकाल बिहीवार सकिने भए पनि भारतको एक कार्यक्रमका सहभागी हुने भएपछि उनलाई विश्वविद्यालयले हिजो (मंगलबार) साँझै बिदाइ गरिसकेको छ। 

नियुक्ति प्रक्रिया नै रोकिएकाले भिसी पद रिक्त भइसके पनि समयमा ती दुई विश्वविद्यालयले उपकुलपति नपाउने भए। त्यसो त नियुक्त गर्न अझै समय लाग्ने देखिएको छ। 

समिति भन्छ : एक हप्तापछि पुनः आवेदन खुल्छ

समितिले गत माघ २६ गते सार्वजनिक सूचना जारी गर्दै १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरमा दरखास्त आह्वान माग गरेको थियो तर समयसीमा नसकिँदै नियुक्ति प्रक्रिया स्थगित गरियो।

मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष तथा त्रिवि सभा सदस्य डा. देवराज अधिकारीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेल र शिक्षासचिव सदस्य छन्।  

सिफारिस समितिका अध्यक्ष अधिकारीले एक हप्तापछि पुनः उपकुलपतिका लागि आवेदन खुलाउने जानकारी दिए। समितिका सदस्य सुरेश अधिकारी बाहिर रहेकाले हाललाई केही निर्णय नलिएको उनको भनाइ छ।

‘समितिका सदस्य बाहिर हुनुहुन्छ, त्यही भएर हाल रोकिएको हो। उहाँ करिब एक हप्तापछि फर्किनुहुन्छ होला। त्यसपछि पुनः समय थप गरेर आवेदन खुलाउँछौँ’, उनले थाहाखबरसँग भने। समितिका अनुसार आवेदन स्थगित नहुन्जेल यी दुई विश्वविद्यालयका उपकुलपतिका लागि १८ जनाको आवेदन परिसकेको छ। 

दबावपछि मापदण्ड खुकुलो बनाउने तयारी

समितिले उपकुलपति छनोटको मापदण्डमा आपत्ति जनाउँदै नियुक्ति प्रक्रिया रोक्न दबाव आएपछि स्थगित गर्नुपरेको जनाएको छ। समितिका एक सदस्यले यसअघि नै भनिसकेका छन्, ‘केही व्यक्तिले उपकुलपतिको मापदण्डलाई लिएर प्रक्रिया रोक्नुपर्ने दबाव दिएपछि तत्काललाई स्थगित गर्ने निर्णय गरिएको हो, त्रिविको हकमा खुकुलो हुने तर यहाँ किन कडाइ गरियो? भन्ने प्रश्न उठाएका छन्।’ तोकिएको मापदण्डअनुसार आवेदन दिएका र दिन इच्छुक व्यक्तिहरूले उक्त मापदण्ड पुर्‍याउन नसकेपछि सच्याउनुपर्ने माग उठाएको उनको भनाइ छ। 

यही दबावका कारण समितिले मापदण्ड खुकुलो बनाउने तयारी गरेको छ। सिफारिस समितिका अध्यक्ष अधिकारीले भने, ‘मापदण्ड कडा भयो भन्छन्,अब सच्याउनुपर्ने माग उठिरह्यो भने त सच्याउनै पर्ला नि।’ उपकुलपतिका लागि दरखास्त माग गरिएका चारवटै विश्वविद्यालयमा (त्रिवि, पूर्वाञ्चल, मध्य,सूदूर)मा आवेदकको प्राध्यापन अनुभवलाई १० अंक, पदाधिकारी अनुभवलाई ४ अंक र विद्यावारिधि गरेकोलाई समान रूपमा ५ अंक राखिएको छ।

प्राज्ञिक अनुसन्धानबापत सुदूरपश्चिम र मध्यपश्चिममा १०, पूर्वाञ्चल र त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० मा ६ अंक मात्रै हुने व्यवस्था राखिएको छ।

प्राज्ञिक एवं अनुसन्धान लेख प्रकाशनमा त्रिविमा ५ पूर्णाङ्क तोकिएको छ भने मध्य र सुदूरपश्चिममा २५ पूर्णाङ्क र पूर्वाञ्चल विश्वविद्यालयमा १० अंक राखिएको छ। यस्तै त्रिविमा शोधपत्रका लागि १५, पूर्वाञ्चलमा १० र मध्य र सुदूरपश्चिम विश्वविद्यालयका लागि पनि १० अंक नै राखिएको छ।

कार्ययोजनामा त्रिविमा ३५ अंक राखिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयमा ३० र मध्य र सुदूरपश्चिम विश्वविद्यालयमा १०/१० अंक राखिएको छ। कार्ययोजना प्रस्तुतीकरणबापत त्रिविमा २० र पूर्वाञ्चलमा पनि २० नै अंक राखिएको छ।

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा भने १० अंक कायम गरिएको छ। त्रिवि र पूर्वाञ्चल विश्वविद्यालयमा अन्तवार्ताका लागि १५ अंक कायम गरिएको छ भने मध्य र सुदूरपश्चिम विश्वविद्यालयमा १६ अंक कायम गरिएको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० मा उल्लेख छ।

(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.