|

हेटौंडा : आज (बुधवार) बोलाइएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ। बिहान साढे ११ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नै अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको हो।

मुख्यमन्त्री जम्मकट्टेल प्रदेशसभाको बैठक डाकेर आफू भने राक्सिराङ गाउँपालिका वडा नम्बर–९ स्थित चेपाङ समुदाय अध्ययन गर्ने गुठी आधारभूत विद्यालयको अभिभावक भेलामा गएपछि संसद् बैठकमा गएपछि प्रतिपक्ष सांसदहरू आक्रोशित भएका छन्।

बैठक डाकेर मुख्यमन्त्री आफैँ अनुपस्थित हुनु गैरजिम्मेवार काम भएको एमाले सांसद भारती पाठकले प्रतिक्रिया दिइन्। उनले सबै सांसदलाई बैठकमा बोलाएर मुख्यमन्त्री अन्तै कार्यक्रममा हिँड्नुले नैतिकतामै प्रश्न उठेको बताइन्। बैठकमा आएका सत्तापक्षकै सांसदहरुले पनि मुख्यमन्त्री जम्मकट्टेलबाट गैरजिम्मेवार काम भएको आरोप लगाएका छन्।

आज बस्ने तय बैठकका कार्यसूची तयार पार्न त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। सभामुख भुवनकुमार पाठकको अध्यक्षता बसेको बैठकमा सरकारका उद्योग‚ वाणिज्य‚ भूमि तथा प्रशासन र कार्यवाहक आर्थिक मामिला तथा योजनामन्त्री रामकृष्ण चित्रकार, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न ढकाल, प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेल र राप्रपा संसदीय दलका नेता उद्धव थापा लगायतको उपस्थिति रहेको थियो।

बैठकमा विपक्षी दलहरुले चालु आव ०८०/८१ को बजेटमा प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका छुटेका योजना समेट्ने सरकारसँगको सहमति कार्यान्वयनको विषय अन्तिम चरणमा पुगेको तर मुख्यमन्त्री नै उपस्थित नभएपछि बैठकमा निर्णय हुन नसकी नबढेको एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए। 

‘सहमति कार्यान्वयनको विषयमा हामी लगभग अन्त्यमा आइसकेका थियौँ। एउटा सहमति गरेर अगाडि बढ्ने कुरा भयो‚’ प्रमुख सचेतक पौडेलले भने, ‘तर मुख्यमन्त्रीज्यु आफैँ बैठक डाकेर राक्सिराङ गाउँपालिका हिँड्नु भएपछि निर्णय हुन सकेन।’

१४० दिनपछि हिउँदे अधिवेशनको पहिलो दिन मंगलवार बसेको बैठकमा दलका नेताहरूले सम्बोधन गरेका थिए। चालु अधिवेशनको पहिलो बैठकमै सरकार र प्रतिपक्षी आरोप प्रत्यारोपमा उत्रिएका थिए।

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठक भोलि बिहान ११:३० बस्ने गरी स्थगित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.