|

काठमाडौँः महाकवि लक्ष्मीप्रसाद देवकोटाको जति योगदान  मौलिक नेपाली साहित्यमा छ, त्यत्ति नै योगदान अनुवाद साहित्यमा पनि रहेको कुरा बुधबार राजधानीमा आयोजित विचार गोष्ठीमा विद्वानहरूले बताएका छन्। 

नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभागद्वारा आयोजित विचार गोष्ठीमा बोल्ने अधिकांश वक्ताले यस्तो धारणा व्यक्त गरेका हुन्। 

‘अनुवाद साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान र देवकोटाद्वारा अनूदित कृतिहरू’ विषयक विचार गोष्ठीका प्रमुख अतिथि शताब्दी वाङ्मय पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली भाषा–साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर महाकवि देवकोटाले महत्त्वपूर्ण कार्य गरेको बताए। उनले भने, ‘देवकोटाले अनुवाद परिषद्मा आवद्ध भएरै पनि अनुवादसम्बन्धी धेरै काम गर्नुभएको थियो।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले नेपाली साहित्यलाई विश्वजगतमा पु¥याउनका लागि अनुवादको अपरिहार्यताबारे जोड दिँदै नेपाली साहित्यको अनुवादमा महाकवि देवकोटाको योगदान अनुकरणीय रहेको धारणा व्यक्त गरे। 

प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ डा. उषा ठाकुरले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै विश्वबन्धुत्व, भाइचारा एवं सामाजिक तथा सांस्कृतिक सम्बन्ध बिस्तारका लागि पनि अनुवाद साहित्यको भूमिका अहं रहने विचार व्यक्त गरिन्। उनले हालसम्म अनुवाद विभागबाट विभिन्न विधाका २१ वटा कृति अनुवाद भई कतिपय प्रकाशित भइसकेको र कतिपय प्रकाशनको क्रममा रहेको उल्लेख गरिन्। 

कार्यक्रममा डा. गोविन्दराज भट्टराईले अनुवादकहरूलाई राज्यका सम्बन्धित निकायहरूबाट उचित सम्मान हुन नसके तापनि प्रतिष्ठानले ‘अनुवादक परिचय कोश’ निकाल्न लागेकोमा आभार प्रकट गरे। उनले भने, ‘यस कार्यले अनुवाद साहित्यका क्षेत्रमा राम्रो प्रभाव पार्ने पक्का छ।’

गोष्ठीमा डा. कृष्णचन्द्र शर्माले गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली अनुवाद साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदान र उनले अनुवाद गरेका कृतिहरूका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा कृष्ण धरावासी, डा. जङ्गब चौहान, खेमलाल पोखरेल, माधव लामिछाने, हरिराज वाग्लेलगायतले बोलेका थिए।

सो अवसरमा अनुवाद विभागको नियमित प्रकाशन प्रभाषिक पत्रिका ‘रूपान्तरण’ अङ्क ५ को लोकार्पण पनि गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.