|

काठमाडौं : भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को आज औपचारिक रुपमा उद्घाटन गरिँदै छ।

नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार नै चितवन पुगेका छन्। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने भएका छन्। उद्घाटन दिउँसो १ बजे हुनेछ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी पनि आज चितवन आइपुग्ने कार्यक्रम तय भएको भरतपुर महानगरपालिकाका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए। नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बिहीबार नै चितवन पुगिसकेका छन्।

अधिकारीका अनुसार उद्घाटन कार्यक्रममा सबै जनालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा गरिएको भएपनि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले भने सहभागी हुन नसक्ने जानकारी दिएको उनले बताए।

भ्रमण वर्षको उद्घाटन कार्यक्रममा करिब ५० हजार जना उपस्थित हुने महानगरको अनुमान छ। उद्घाटनअघि भरतपुरको चौविसकोठीबाट नारायणी नदी किनारसम्म विशाल र्‍याली निकालिँदै छ। महानगरपालिकाका २९ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विद्यालय, धार्मिक तथा जातिय समुदाय, विभिन्न सामाजिक संघसंस्था, नागरिक समाज, विभिन्न जातजातीहरु सांस्कृतिक झाँकीसहित सहभागी हुनेछन्। भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा २०२४ सदस्यीय मूल समारोह समिती तथा ७ सदस्यीय निर्देशन समिति गठन गरिएको छ।

महानगरका गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने, पर्यटकको संख्या र बसाइँ अवधि वृद्धि गर्ने तथा दिगो पर्यटन विकासबाट आर्थिक समृद्धि प्राप्त गर्ने उद्देश्यले आयोजना गर्न लागिएको भ्रमण वर्षले यस आसपासका क्षेत्रहरुको आर्थिक तथा पर्यटन क्षेत्रलाई टेवा दिने महानगरको अपेक्षा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.