|

बैतडीः वर्षात सुरु भएसँगै बैतडीको डिलासैनी गाउँपालिका– ६ बांगाबगरका बासिन्दाले विगत १४ वर्षदेखि त्रासमय जीवन बिताउन बाध्य छन्। 

हरेक वर्ष लगातारको वर्षाले माथिबाट पहिरो आउन सुरु भएपछि बांगाबगरवासी रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्। 

घर सार्नका लागि आफूहरूसँग अन्यत्र जमिन नभएकाले जोखिम मोलेर बस्न बाध्य भएको पीडितहरूको भनाइ छ। लामो समयदेखि आफूहरूको उद्धारमा कसैले चासो नदेखाउँदा पहिरोको त्रासले रातदिन सताएको पीडितहरूले बताएका छन्। ‘दिनको भोक र रातको निद्रा पहिरोले लगेको छ’, बांगाबरकी पहिरो पीडित मञ्जु दमाईंले भनिन्, ‘कतिखेर घर पुरिने हो भन्ने डरैडरमा दिनरात बित्छ।’

२०६० साल असारमा आएको पहिरोले त्यो बेला बांगाबगर– ६ घर पूर्ण रूपमा नष्ट गरेको थियो भने १५० रोपनी जमिनलाई बगरमा परिणत गरेको थियो। सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले बांगाबगरवासीलाई चिन्तित बनाएको स्थानीय महेश सार्कीले बताए। 

पहिरोका कारण सात परिवार दलितलाई घरबारविहीन बनाएको छ भने अन्य समुदायका छ परिवारलाई पनि घरबारविहीन बनेका छन्। आफूहरूले बसोवास गर्नका लागि कतै ठाउँ नभएपछि पहिरोको छेउमै बनाएको टहरामा बास बस्नुपरिरहेको स्थानीय धनीराम सार्कीले बताए। ‘आफ्नो भएको जग्गा सबै पहिरोले लगेपछि टहराको बास भएको छ’, उनले भने, ‘कुन बेला टहरासँगै यो ज्यान जान्छ!’

लगातारको वर्षाले रातको निद्रासमेत हराएको स्थानीय तेजबहादुर साउदले बताए। ‘वर्षा भएसँगै परिवारको एक जनाले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ’, उनले भने। पहिरो रोकथामका लागि लगाएको पर्खालसमेत भत्किएको छ। पहिरो बस्तीको दुईतर्फ भएकाले दुवैतर्फका नागरिकलाई सास्ती भएको स्थानीय सुरेश श्रेष्ठले बताए। 

सात सय मिटर लम्बाइको पहाडवाट खसेको बांगाबगर पहिरोले स्थानीय त्रसित बनेका छन्। ‘यहाँका स्थानीय पहिरोकै जोखिमको बीचमा बस्न बाध्य छन्’। श्रेष्ठले भने। 

बेलाबेला अवरुद्ध हुन्छ महाकाली राजमार्ग 
प्रत्येक वर्ष आउने पहिरोले महाकाली राजमार्गअन्तर्गत बांगाबगरमा सडकसमेत अवरुद्ध हुने गरेको छ। पहिरो नियन्त्रणका लागि गुरुयोजना नै निर्माण गरेर जान सके मात्रै केही हदसम्म पहिरोको नियन्त्रण गर्न सकिए पनि अन्यथा भने पहिरो नियन्त्रण गर्न नसकिने बताइएको छ। यसका साथै उक्त पहिरोको स्थायी समाधान तत्काल असम्भव देखिएको छ। 

वर्षा बढेसँगै पहिरोले बेलाबेलामा राजमार्ग अवरुद्ध गर्ने भए पनि तत्काल पहिरो नै रोकथाम हुने संभावना नरहेको देखिएको हो। विगतदेखि नै वर्षातको समयमा बग्दै आएको पहिरो यो वर्ष पनि वर्षा सुरु हुनेबित्तिकै बगेर सडक नै अवरुद्ध गर्न थालेको छ। माथिबाट पानीसहित बगेर आउने पहिरोको लेदोले सडक अवरुद्ध हुने गरेको हो।

किन हुन सकेन पहिरो नियन्त्रण?
भित्री कमेरोयुक्त माटो भएकाले बांगाबगर आउने पहिरो तत्कालै नियन्त्रण गर्न सकिने अवस्था नरहेको विपद् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेको संस्था मर्सिकोर नेपालका जिल्ला संयोजक हेमराज भट्टले बताए। पहिरोको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन्।

गत साल त्रिभुवन विश्वविद्यालय इन्जिनियर संस्थानका अधिकारीहरूले अध्ययन गर्दा कमेरोयुक्त माटो र तालका कारण पहिरोका आएको बताएका थिए। सो पहिरो नियन्त्रणका लागि सानो लगानीले केही नहुने देखिएको स्थानीय बताउँछन्। जिल्ला प्रशासन कार्यालय बैतडीले पहिरोपीडितलाई बेलाबेलामा सहयोग गर्दै आएको भए पनि त्यो सहयोग पर्याप्त हुन नसकेको स्थानीयको गुनासो छ।

गुरुयोजना नै निर्माण गरेर जान सके मात्रै केही हदसम्म पहिरोको नियन्त्रण गर्न सकिए पनि अन्यथा भने पहिरो नियन्त्रण गर्न नसकिने बताइएको छ। बांगावगर पहिरोको स्थायी समाधान तत्काल असंभव रहेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

सानोतिनो लगानी तथा कुनै एक निकायले पनि गर्न नसक्ने भएकोले सबै निकायले ध्यान दिए संभव रहेको उनको भनाइ छ। ‘पहिरोपीडितका लागि प्रशासनले सक्दो सहयोग गरिरहेको छ’, उनले भने, ‘पहिरो नियन्त्रणका लागि राज्यका ठूला निकायको पनि सहयोग चाहिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.