|

मनाङ : ङिस्याङ गाउँपालिका ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ।

हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए। उनका अनुसार आइतबार भारी हिमपात भएपछि यो क्षेत्रमा पहिरो आएको हो। 

‘पर्यटक आउने याम सुरु भइसकेको छ । पहिरोका कारण जोखिम बढेको छ’, उनले भने। यो क्षेत्र भएर यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतता अपनाउन आग्रह गरेको प्रजिअ लामिछानेले बताए। 

दैनिकरूपमा यहाँ ५० देखि ६० पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। ‘दैनिक पर्यटक आगमन बढ्न थालेको छ’, उनले भने, ‘भारी हिमपातसँगै आएको हिमपहिराले जोखिम भने बढाएको छ। सचेत भएर उक्त क्षेत्र पार गर्न आग्रह गर्ने गरेका छौँ।’

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएको छ। काठमाडौंबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.