|

चितवन : मौरी पालेर जीविका चलाउँदै आएका किसान उत्पादित महले बजार नपाउँदा ​समस्यामा पर्न थालेका छन्। चालु आर्थिक वर्षमा मात्रै दुई हजार ७०० मौरीपालन किसान पलायन भएका छन्।

नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार गत आर्थिक वर्षमा १६ हजार ५०० किसान मौरीपालन व्यवसायमा रहेकोमा यो वर्ष १३ हजार ८०० मा झरेका छन्। ‘बजारको समस्या हुँदा किसानले व्यवसाय छाडेर पलायन हुनुपर्ने अवस्था आएको छ’, उनले भने, ‘कतिपय किसान विदेशिएका छन् भने कतिपयले व्यवसाय परिवर्तन गरेका छन्।’

चरन अभाव र विदेशी महको आयातका कारण स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा परेको उनले बताए। उनले भने, ‘बजारमा विदेशी मह बिक्री भइरहेको छ। नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ।’ विभिन्न स्थानमा मौरी चराउन जाँदा विषादी हालिदिने, चोरी हुने र स्थानीय तहहरूले अन्यत्रबाट मौरी ल्याउन नदिने भन्दै आनाकानी गर्ने गरेको समेत उनको भनाइ छ।

यहाँ उत्पादित महमध्ये दुई हजार मेट्रिक टन मह गोदाममा थन्किएको उनले बताए। गत वर्षको एक हजार ५०० मेट्रिक टन मह अझै बिक्री हुन नसकेको उनले गुनासो गरे। ‘गुणस्तरीय भण्डारणको अभावका कारण घरमा खाटामुनि मह राख्नुपरेको छ।

आयातित महलाई सामान्य भन्सारको व्यवस्था भए नेपाली महले बजार पाउन सक्ने घिमिरेले बताए। खुला बजार नीतिका कारण मौरीपालन गर्ने किसान समस्यामा पर्ने गरेको उनको भनाइ छ। ब्राण्डका नाममा अन्तर्राष्ट्रिय बजारमा नबिकेको मह नेपालमा आउने गरेको उनको भनाइ छ।
 
आफूहरूले उपभोक्ता र सरकारलाई बुझाउन नसक्दा समस्या बढ्दै गएको उनले गुनासो गरे। मौरीपालन गर्दै आएका किसानले महले बजार नपाएपछि आन्दोलनको तयारी गर्न थालेको उनले जानकारी दिए। महासंघले चरणबद्ध आन्दोलन गर्ने भन्दै किसानसँग सल्लाह गरेको अध्यक्ष घिमिरेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.