|

काठमाडौँ : विभिन्न भाषाका विज्ञ उत्पादन गर्ने, अन्तरराष्ट्रियस्तरमा भाषा अनुवाद गर्ने र प्रतिस्पर्धा गराउनेलगायत उद्देश्यले सञ्चालनमा आएको विश्वभाषा क्याम्पस वि. सं. २०१८ मा स्थापना भएको थियो।

पछि विद्यालय २०२८ सालमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमा रूपान्तरण भयो। भाषा मात्रै पढाउँदै आएको विश्वभाषा क्याम्पसमा २०७६ बाट विभिन्न भाषासँग जोडेर क्याम्पसले स्नातक तहको कार्यक्रम सञ्चालन गरेको थियो। क्याम्पसको बेवसाइटमा विभिन्न १३ भाषाका विभाग राखिएको छ। तीमध्ये डिपार्टमेन्ट अफ अंग्रेजी,चाइनिज, नेपाली, संस्कृत, जर्मन, फ्रान्स, स्पेनी, रसियन, जापानी, कोरियन, अरबी, इटालियन र नेवारी (नेपाल भाषा) का छन्। 

क्याम्पसका अनुसार हाल जापानी, चाइनिज, फ्रेन्च, इटालियन‚ स्पेनी, नेपाली, अंग्रेजी, कोरियन र जर्मन गरी ९ भाषाको मात्रै अध्यापन भइरहेको छ। क्याम्पसका नायब सुब्बा (नासु) टहल दाहालले विद्यार्थी नभएकाले अन्य भाषाका शैक्षिक कार्यक्रम हाल बन्द रहेको जानकारी दिए।

उनका अनुसार ती भाषाको शैक्षिक कार्यक्रम सधैँका लागि बन्द भएको हैन। विद्यार्थी अभावले पठनपाठन नभएको मात्रै हो। विश्वभाषा क्याम्पसले २०७१ सालबाट अरबी भाषा पनि पढाउन थालेको थियो तर विद्यार्थी नभएपछि हाल पढाइएको छैन। ‘यहाँ पढ्न एसइई पास गरेकै हुनुपर्छ, त्यसपछि विभिन्न भाषाको बेसिकदेखि एडभान्स तहसम्म पठनपाठन हुन्छ’, उनले भने।

कुन भाषामा पढ्ने कति छन् विद्यार्थी ?

नेपाल विश्वभाषा क्याम्पसका प्रवक्ता सर्गमान महर्जनका अनुसार जापानी भाषा १०९ जना,चाइनिज १९२, फ्रेन्च १६९, कोरियन भाषा १५१ जना विद्यार्थीले पढ्दै आएका छन्।

यसैगरी इटालियन भाषा १० जना र स्पेनी भाषा ८१ जनाले पढ्दै आएका छन्। अहिले जर्मन भाषा पढ्ने विद्यार्थीको संख्या बढी छ। हाल २३४ जनाले उक्त भाषा पढ्दै आएको महर्जनले जानकारी दिए। त्यसैगरी अंग्रेजी माध्यमको रिटनमा ९२ जना र बेसिकमा १८३ जना रहेको उनले जानकारी दिए। उनका अनुसार बिहान, दिउँसो र साँझ गरी सिफ्टअनुसार पठनपाठन भइरहेको छ। 

३ सय विदेशी विद्यार्थी अध्ययनरत

उक्त क्याम्पसमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन्। क्याम्पसका नासु दाहालका अनुसार हाल करिब ३ सय विदेशी विद्यार्थीले नेपाली भाषा पढ्छन्। उनीहरू जापानी र चाइनिज हुन्। ‘कतिपय उनीहरू यही काठमाडौँमै बसेर पढ्दै आएका छन् भने केही उनीहरूकै देशमा बसेर अनलाइनबाटै पढ्दै आएका छन्’, उनले भने। 

विभिन्न भाषा पढ्नेको आकर्षण घटेको छैन : महर्जन

क्याम्पसले विदेशी विद्यार्थीका लागि नेपाली भाषामार्फत नेपालको सभ्यता र पहिचानलाई एशिया, यूरोप र अमेरिकाका विभिन्न स्थानमा पुर्‍याएको जनाएको छ।

भाषाका माध्यमबाट यहाँका विद्यार्थीलाई विदेशी विश्वविद्यालयहरूसँग जोड्नुपर्ने विश्वभाषा क्याम्पसको प्रमुख दायित्व रहेको छ।

क्याम्पसका अनुसार नेपाली भाषा, साहित्य, समाज, इतिहास आदि चिनियाँ विश्वविद्यालयको पाठ्यक्रमभित्र पनि परेको छ। त्यसैले चिनियाँ विद्यार्थीको नेपालीबारे सिक्ने र बुझ्ने चाहना पनि पहिलाभन्दा बढेको छ। 

नेपाल विश्वभाषा क्याम्पसका प्रवक्ता महर्जनले विभिन्न भाषामा पढ्नेको आकर्षण नघटेको जानकारी दिए। ‘एउटा कक्षामा हामी ४० जनासम्म विद्यार्थी राखेर गुणस्तरीय शिक्षा दिन्छौँ। त्यसैले अहिलेसम्म विद्यार्थीको उपस्थिति राम्रै छ, पढ्नेहरूको आकर्षण घटेको छैन’, उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.