|

काठमाडौं : शहरको धुलोधुवाँ। भिडभाड र होहल्ला। चर्को घाम होस या झरी परेको बेला होस सडकमा निर्धक्क खटिरहेका हुन्छन् ट्राफिक प्रहरी। ट्राफिक जाम व्यवस्थापन गर्दै सवारीचालकको ज्यान जोगाउनुपर्ने कर्तव्य उनीहरूको काँधमा छ। यस अर्थमा कि ट्राफिक प्रहरीले चालकलाई तीव्र गतिमा चलाउन नदिनु नै जीवन रक्षाको लागि हो। तर,यही जिम्मेवारी पूरा गर्दा उनीहरूको ज्यान भने जोखिममा छ। 

फागुन २० गते कोटेश्वरमा नायव निरीक्षक (सई) टोपबहादुर खत्री ड्युटी गरिरहेका थिए। बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिने क्रममा बसले उनलाई ठक्कर दिएर गम्भीर घाइते भए।

तत्कालै उनको अन्नपूर्ण न्यूरो अस्पतालमा लगेर आइसियुमा राखेर उपचार भइरहेको थियो। तर उपचारकै क्रममा ८ दिनपछि उनको निधन भएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जीवन श्रेष्ठका अनुसार बसले ठक्कर दिँदा उनको टाउकोमा गम्भीर चोट लागेको थियो। तर, हिजो अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारकै क्रममा निधन भयो।

पछिल्लो समय उपत्यकाभित्र बढ्दो सवारीसाधन र चालक लापरबाही कारण ड्युटीमा खटिरहेकै ट्राफिक प्रहरी सुरक्षित छैनन्। यसअघि पनि यस्ता थुप्रै दुर्घटना भए। उपत्यकामा मात्रै होइन जिल्लाबाहिर पनि यस्ता दुर्घटना भएका छन्। उक्त दुर्घटनामा पनि उनीहरूको ज्यानै गएको छ। तीन महिनाको अवधिमा मात्रै यसरी ड्युटीमा खटेका दुई ट्राफिक प्रहरीको ज्यान गएको छ।

२०८० मंसिरमा नेपालगन्जको बाँकेको महेन्द्र राजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा प्रहरी जवान विशाल ओलीको मृत्यु भयो। अर्का प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भए। राति भे १ च ३४०७ नम्बरको जिपले सडकमा उभिएर गाडी रोक्दै गरेका ती दुईजना ट्राफिक प्रहरीलाई  ठक्कर दिएको थियो।

२०७७ मंसिर २१ गते सप्तरीमा पनि ड्युटीमा खटिरहेका अवस्थामा स ७ प २५८० नम्बरको मोटरसाइकल चालकले प्रहरी सहायक निरीक्षक हिमबहादुर खतिवडालाई ठक्कर दिएर घाइते बनायो। 

यस्तै, २०७४ फाल्गुनमा सुर्खेत– वीरेन्द्रनगर–७ कटकुवास्थित चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान कुलबहादुर शाही मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भए। २०७२ जेठ २ गते दाङको घोराही–तुलसीपुर सडक खण्डमा ड्युटी गर्दा प्रहरी सहायक निरीक्षक भुवनसिंह कुँवर घाइते भए।​​

ड्युटी गरिरहेका बेला तीव्र गतिमा आएको मोटरसाइकलले कुँवरलाई ठक्कर दिँदा दाहिने खुट्टा भाँचियो। दाहिने पाखुरामा स्टिल राख्नुपर्यो। अर्कातर्फ ट्राफिक नियम उल्लंघन गरेर कारबाही गर्दा पनि उनीहरू चालकहरूबाट अनेक शब्दमा गाली गर्ने गर्छन्। ती गालीको सामना गर्नु परिरहेको छ उनीहरूलाई।

चालकमाथि अनुसन्धान हुँदै

कोटेश्वरमा घटेको घटनामा बस चालक थिए नवराज गिरी। घटना घटेको लगत्तै उनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लियो। दुर्घटना गराउने बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।

हाल चालकलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। ‘बसले ठक्कर दिएका ट्राफिक प्रहरी खत्रीको उपचार भइरहेको थियो,तर उहाँको निधन भयो,थप यस विषयमा अनुसन्धान हुँदै छ,’उनले भने। उनका अनुसार शव आफन्तलाई बुझाइ सकिएको छ।

‘चालकको लापरबाहीले जोखिम बढेको छ’

काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता श्रेष्ठ बढी चालकहरूकै लापरबाहीले यस्तो घटना घटिरहेको बताउँछन्। ‘ड्युटी गर्नुपर्ने हाम्रो जिम्मेवारी हो,तर सवारीचालकहरूको लापरबाहीले हाम्रो समेत ज्यान जोखिम पर्छ,अरू लापसे,सडक अवस्था लगायत कारण पनि दुर्घटना हुने गरेको छ,’उनले भने।

ट्राफिकहरूको सुरक्षाको लागि  ट्राफिक कार्यालयले ब्रिफिङ गर्दै आएको उनको भनाइ छ। ‘ट्राफिक प्रहरीहरूले पनि नियमित आफ्नो ख्याल राख्नुपर्छ,सुरक्षित ठाउँमा बसेर ड्युटी गर्नुपर्छ,रातीको समयमा टल्किने खालको पहिरन लगाउनुपर्छ,गाडी रोक्दा ध्यानपूर्वक रोक्नुपर्छ,सुरक्षित हुनलाई हामीले उहाँहरूलाई यस्तै ब्रिफिङ गरिरहन्छौँ,’उनले भने।

आफ्नो ज्यान होस या अरूको ज्यान बचाउँदा सदैव चालकहरू होसियार पूर्वक सवारीसाधन चलाउनुपर्ने उनको सुझाव छ। ‘चालकहरूले कहिल्यै लापरबाही गरेर साधन चलाउनुहुँदैन,यसले धेरै क्षति पुग्छ,’उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.