|

काठमाडौं : चालु शैक्षिक सत्रको अन्त्यतिर आउँदै गर्दा वार्षिक परीक्षाको सञ्चालनको तयारी देशभर भइरहेको छ। अधिकांश विद्यालयमा चैत महिना सुरु भएसँगै वार्षिक परीक्षा सञ्चालन हुँदै छ।

तर, शिक्षकहरूले भने ९ महिनादेखि तलब नपाएका कारण आन्दोलन गरिरहेका छन्। रौतहटको फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षकहरूले आज (बिहीबार) देखि ९ गतेसम्म सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गरेका छन्।

नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवले तलब नपाएपछि शिक्षकहरू आन्दोलित हुन बाध्य भएको बताएका छन्। उनीहरू बुधबार पनि धर्ना दिएका थिए।

‘सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब नआए परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको छ,’ संयोजक यादवले भने,‘पटकपटक आश्वासन मात्र पाउने र तलबकै लागि सधैँ आन्दोलन गर्नुपर्ने अवस्था आइरहेको छ, त्यसैले अब उधारोमा सहमति हुँदैन।’ उनका अनुसार फतुवा विजयपुर नगरपालिकामा ३२ वटा विद्यालय रहेका छन्।

प्रस्तावितसहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालय रहेको छ। ती सबै विद्यालयमा गरी कुल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि शीतलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए।

त्यहाँ रहेका ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्म रहेका करिब १० हजार विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ।

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीका अनुसार रौतहटमा मात्रै मधेश प्रदेश क्षेत्रभित्रका स्थानीय तहहरूले शिक्षकहरूलाई साउनदेखि नै तलब उपलब्ध गराएका छैनन्। ‘सप्तरी, सर्लाहीलगायत मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा शिक्षकहरूले समयमा तलब पाएका छैनन्,’उनले भने। ती ठाउँमा पनि आन्दोलन गर्ने तयारीमा शिक्षकहरू रहेको उनको भनाइ छ। 

नगरपालिका भन्छ : भोलिदेखि परीक्षा हुन्छ

फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजनारायण यावदले ३२ वटा विद्यालयमध्ये पाँचवटा विद्यालयमा शिक्षक आन्दोलनका कारण वार्षिक परीक्षा रोकिएको जानकारी दिए।

उनले भने,‘नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालय छन्,त्यसमा पाँचवटा विद्यालयमा आजदेखि हुने भनिएको परीक्षा भएन,अरूमा भइरहेको छ,’उनले थाहाखबरसँग भने।

उनले रोकिएको ती विद्यालयमा भोलिदेखि परीक्षा सञ्चालन हुने जानकारी दिए। ‘आज विद्यालयका प्रअसँग छलफल भइसक्यो,अब भोलिदेखि परीक्षा सञ्चालन गर्ने सहमति भएको छ,’उनले भने।

परीक्षा बिथोल्ने रहर होइन, बाध्यता हो

नेपाल शिक्षक महासंघका महासचिव सुवेदी यसरी आन्दोलन गरेर परीक्षा बिथोल्ने रहर नभएर बाध्यता भएको बताउँछन्। ‘समयमा शिक्षकहरू तलब पाउँदैनन्,हाम्रो पनि परिवार छन्,पाल्नु पर्यो अनि आनाकानी गर्दै स्थानीय तहले तलब रोक्ने हो र,यो आन्दोलन गर्नु रहर होइन, बाध्यता हो,हामीले ती आन्दोलनलाई ऐक्यबद्धता जनाउनैपर्छ,’उनले भने।

उनका अनुसार पछिल्लो समय स्थानीय तहहरूले शिक्षकहरूलाई तलब उपलब्ध गराउन अनेक बहाना बनाउँदै पन्छिने गरेका छन्। ‘आखिर तलब जसरी नी दिनु नै पर्छ,त्यसैले किन बाहानाबाजी गर्नु,हामीले नियमित रूपमा पाउने गरि कानुनी व्यवस्था गर्न पहिलादेखि माग गर्दै आएका छौँ,तर स्थानीय तह कानमा तेल हालेर बस्छ,’उनले भने।

समयमा तलबको व्यवस्था नभए यसअघि जस्तै देशैभरका  शिक्षकहरूले आन्दोलन गर्ने उनीहरूको तयारी छ। शिक्षा विधेयकविरूद्ध असोज ३ गते पनि देशभरका शिक्षकहरूले विद्यालय नै बन्द गरेर काठमाडौंमा विरोध प्रदर्शन गरेका थिए।

पाँच दिनभित्र तलब निकासा गर्ने प्रतिबद्धता

फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पाँच दिनभित्र शिक्षक र कर्मचारीको तलब उपलब्ध गराउने प्रतिबद्धता जनाए। लामो समयदेखि नगरसभा नहुँदा यो अवस्था आएको उनको भनाइ छ।

फतुवा विजयपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख यादवले पनि निर्वाचित जनप्रतिनिधिहरूमै तालमेल नमिल्दा समयमा तलब उपलब्ध गराउन नसकिएको बताए।

‘वार्षिक परीक्षाको बेला त उहाँहरू पनि बुझ्नुपर्ने हो,करिब १० हजार विद्यार्थीहरूको भविष्य अन्योल हुन्छ, छिटो तलब उपलब्ध गराउन त नगरपालिका लागिपरिरहेको छ,’उनले भने।

फतुवा विजयपुर नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर गोपाल राय यादव नदीको टेन्डरमा दोषी ठहर भएर पद गुमाएपछि कांग्रेसकै उपमेयर अम्बेया खातुनले गत वर्षदेखि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.