|

डोटी : कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरूप ओखरमा ‘टप ओर्किङ’ गरेको छ। दाँते भनी लगाएका ओखर हाडे निस्किएको किसानको गुनासाे आएपछि केन्द्रले यो विधि अपनाउन  थालेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिए। 

यो विधिमा हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिन्छ। बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाए।

परीक्षणस्वरूप ५०  टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले जानकारी दिए। सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिश पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको हो । दिपायल सिलगढी नगरपालिका सहित आदर्श र सायल गाउँपालिकामा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । सफल भए ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा  समेटी जिल्लामा यो कार्य विस्तार गर्ने कार्यालय प्रमुख अवस्थीले बताए। 

यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउँछ। यो विधि अपनाउन ओखरको बिरुवाको मोटाइ दुई हातले समात्न मिल्ने हुनुपर्छ। धेरै मोटाइ भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन। नब्बे एमएम सम्म मोटाइ भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिक बताउँछन्। यस्तो विधि बैतडी, मुस्ताङलगायतका जिल्लामा सफल भएको पाइएको छ। 

नेपालमा ओखरको खेती समुद्री सतहबाट ९०० मिटरदेखि तीन हजार ५०० मिटरसम्म गर्न सकिन्छ। बिजु ओखरको बिरुवाले पाँचदेखि छ वर्षबाट उत्पादन दिन शुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ । प्रतिकेजी ६०० देखि ७०० पर्ने ओखरको बोटले सामान्यतया ५०-६० वर्षसम्म फल दिन्छ । लगाएपछि धेरै मिहिनेत गर्नु नपर्ने र बजार मूल्य राम्रो भएका कारण पनि ओखर खेतीप्रति किसानको आकर्षण बढ्दो छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.