|

काठमाडौँ : संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा ग्याल्जेन शेर्पाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

शनिवार सिंहदरबारस्थित राष्ट्रियसभाको संसद् सचिवालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मनोनयन परेको छ। यससँगै एउटा समितिमा दाबेदारीका लागि एक-एकजनाले मात्रै उम्मेदवारी मनोनयन गराएसँगै निर्विरोध निर्वाचित भएका छन्। यसको आधिकारिक घोषणा आइतवार मात्रै हुने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

उनले राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरूको कार्यकाल सकिएसँगै नेतृत्व रिक्त रहेको थियो। राष्ट्रियसभा नियमावली, दोस्रो संशोधन नियमावलीले सभापतिको पद रिक्त भएको मितिले १५ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भन्ने व्यवस्था गरेअनुसार यही ५ गतेभित्र निर्वाचन गरिसक्नुपर्ने नियमावलीमा व्यवस्था भएअनुसार निर्वाचन गर्न लागिएको बताए।

सहायक प्रवक्ता धमलाले आइतवार सभापति निर्वाचित गर्न र औपचारिक रुपमा घोषणा गर्नका लागि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक २ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक १ बजेको लागि बैठक बोलाइएको बताए.

धमलाले भने, ‘राष्ट्रिय सभाअन्तर्गतका दुईवटा समितिमा सभापति पद रिक्त भएको थियो। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका तत्कालीन सभापतिहरूको फागुन २० गते कार्यकाल समाप्त भएर पद रिक्त भएको थियो।’

उनले आइतवारको बैठकमा सभापतिका लागि नियमावलीको व्यवस्थाबमोजिम निर्वाचन हुने बताए। नियमावलीमा एउटा मात्रै प्रस्ताव दर्ता भए निर्विरोध निर्वाचित हुने व्यवस्था रहेकाले दुवै समितिमा निर्विरोध निर्वाचित हुने निश्चित भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.