|

काठमाडौं : नाटकलाई रंगमञ्चसम्म पुर्‍याउने श्रेय पाएका नाटककार बालकृष्ण समको रंगशिल्प अहिले पनि उस्तै चर्चामा छ। प्राध्यापक डा. सावित्री कक्षपतीले लेखेको पुस्तक 'रंगकर्मी बालकृष्ण सम र उनको रंगशिल्प'को सार्वजनिक कार्यक्रममा समको रंगशिल्पबारे अन्तरसंवाद भएको हो।

कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बालकृष्ण समबाट शिक्षा लिएका र संगत गरेका प्राध्यापक डा. अभि सुवेदी, गीतकार एवं फिल्म निर्देशक यादव खरेल, रंगकर्मी हरिहर शर्मा, लेखक प्राध्यापक डा. सावित्री कक्षपती र साझा प्रकाशनका प्रमुख डोलेन्द्र शर्मा।

बालकृष्ण समको कार्यशैलीको झल्को दिने शैलीको भनिएको रंगकर्मी राज शाहले निर्माण गरेको मञ्चमा प्राध्यापक डा. सुवेदीले समको रंगकर्म गर्व गर्न लायक रहेको बताए। उनले समको नाटक शिल्पबारे व्याख्या गर्नु झनै चुनौतीपूर्ण रहेको बताए। उनले भने, 'चुनौतीपूर्ण किसिमले समको रंगशिल्पको सामना गरेर लेखिएको कृति आएको छ।'

समको नाटक 'प्रेमपिण्ड'लाई चलचित्रमा उतारेका निर्देशक एवं गीतकार यादव खरेलले समको पालामा काठमाडौंमा नाटक मञ्चन असम्भवःप्राय रहेको सम्झिए। त्यस्तो बेलामा पनि बालकृष्ण समको नाटकप्रतिको लगावबारे उनले भने, 'सम आफै भेषभूषाका सामाग्री ल्याउनुहुन्थ्यो। आफै नाटक लेख्ने, मञ्च निर्माण गर्ने र खेल्ने गर्नुहुन्थ्यो।'

समसँगको संगत सम्झदै खरेलले भने, 'म ज्ञानेश्वरमा बस्थे। सम मेरा आदर्श हुनुहुन्थ्यो र म उहाँको पछिपछि लाग्थें। उहाँ केटाकेटीलाई पनि तपाईं भनेर सम्बोधन गर्नुहुन्थ्यो।' समको विशेषज्ञता नाटकमा मात्रै सिमित नरहेर चित्रकारिता, फोटोग्राफी, वास्तुकलामा पनि रहेको खरेलले बताए।

बालकृष्ण समका नाटकमा अभिनय गरेका अभिनेता हरिहर शर्माले समको नाट्य शिल्पबारे पुस्तक निस्किनु महत्वपूर्ण काम भएको बताए। उनले भने, 'सधैं नाटकका किताब त छापिन्थे तर नाट्य शिल्प र प्रस्तुतीको बारेमा लेखिएको थिएन। अहिले यो पुस्तककमा बालकृष्ण समको नाट्य शिल्पबारे राम्रोसँग वर्णन गरिएको छ।'

बालकृष्ण समको नाट्य शिल्पबारे पुस्तक 'रंगकर्मी बालकृष्ण सम र उनको रंगशिल्प'की लेखक प्राध्यापक डा. सावित्री कक्षपतीले लामो समयको अध्ययनपछि पुस्तक लेखेको बताइन्। उनले पुस्तक तयार पार्नका लागि नेपाल र भारतका रंगकर्मीसँग छलफल पनि गरेको बताइन्।

'रंगकर्मी बालकृष्ण सम र उनको रंगशिल्प' पुस्तक साझा प्रकाशनबाट बजारमा आएको हो। यसको मूल्य ४ सय ५० रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.