विचार

नेपाली संस्कृतिमा साउने संक्रान्ति र सोमबार
SHARES

साउन १, २०७४

    साउने संक्रान्तिसँगै  नेपालीहरूका अधिकांश चाडपर्व आउने भएकाले पनि नेपाली संस्कृतिमा यसको विशेष महत्त्व छ। सूर्य कर्कट राशिमा पुग्ने र दक्षिणायन हुने कारण ज्योतिष तथा धर्मशास्त्रमा यो दिनको महत्त्व छ। 

    संक्रान्ति, राशि र अयन
    प्रचलनमा रहेको सौरमानको पात्रोअनुसार वर्षमा वैशाखदेखि चैत्रसम्मका १२ महिना छन्। ज्योतिषशास्त्र अनुसार सूर्य यी महिनाहरूमा मेषदेखि मीनसम्मका बाह्र राशिमा रहने गर्दछ। वैशाख महिनामा सूर्य मेष राशिमा रहन्छ भने जेठमा वृष राशिमा। यसै क्रमले फागुनमा कुम्भ हुँदै चैत्रमा मीन राशिमा। अर्थात् सूर्यले एक राशिमा एक महिना बिताउने गर्छ। यसरी नै सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने दिन अथवा महिनाको पहिलो दिनलाई नै संक्रान्ति भनिन्छ। अयन भनेको सूर्यको हिँड्ने बाटो हो। सूर्य दक्षिण र उत्तर गरी दुई बाटोमा हिँड्ने गर्छ। अर्थात् सूर्य जतातिर ढल्किन्छ। त्यसैलाई अयन भनिन्छ।

    दक्षिणायन र उत्तरायण
    दक्षिण र अयन मिलेर दक्षिणायन बनेको छ। सूर्य साउनदेखि पुससम्म ६ महिना दक्षिणतर्फ भएर हिँड्छ। यसैले यो समयलाई दक्षिणायन भनिएको हो। यसैगरी उत्तर र अयनको सन्धि भएर उत्तरायण बनेको छ। माघदेखि असारसम्म सूर्य ६ महिनासम्म उत्तरतिर रहने भएकाले यो समयलाई उत्तरायण भनिएको हो।  साउने संक्रान्तिदेखि दिन घट्दै जाने र रात लामो हुने विश्वास गरिन्छ। 

    यो निरयण मानअनुसारको कल गणना हो। सायन मान्नेहरूले असारको ७ गतेतिरै दक्षिायन भएको मान्छन्। यस्तै पुसको ७ गते नै उत्तरायण भएको मान्छन्। अयन परिवर्तन साउन १ र माघ १ मै हुन्छ भन्ने पक्षलाई सायनवादीहरू मान्दैनन्। 

    दक्षिण र अयन मिलेर दक्षिणायन बनेको छ। सूर्य साउनदेखि पुससम्म ६ महिना दक्षिणतर्फ भएर हिँड्छ। यसैले यो समयलाई दक्षिणायन भनिएको हो। यसैगरी उत्तर र अयनको सन्धि भएर उत्तरायण बनेको छ। माघदेखि असारसम्म सूर्य ६ महिनासम्म उत्तरतिर रहने भएकाले यो समयलाई उत्तरायण भनिएको हो।  साउने संक्रान्तिदेखि दिन घट्दै जाने र रात लामो हुने विश्वास गरिन्छ। 

    दक्षिणायनको समयलाई मांगलिक कार्यका लागि राम्रो मानिँदैन। विवाह, व्रतबन्ध, नवगृह निर्माण–प्रवेश लगायतका मांगलिक कार्य यसबेला गर्नुहुँदैन भन्ने मान्यता छ । मांगलिक कार्यका साथै अन्य विशेष कार्यका लागि पनि माघदेखि असारसम्मको अवधि अर्थात् उत्तरायणलाई नै उपयुक्त मानिएको छ। 

    सामाजिक एवं सांस्कृतिक पक्ष
    साउन संस्कृत शब्द श्रावणको नेपाली रूप हो अर्थात् तत्भव शब्द हो। यसदिन बिहान सबेरै उठी स्नान गरी सूर्योपासनालगायतका कार्य गरी ब्राह्मण पुरोहितबाट अयनफल सुन्ने चलन छ। लौकिक चलनअनुसार यसदिन गाउँघरमा लुतो फ्याँक्ने गरिन्छ। निबुवा लगायतका अमिला फलफूल, कुरिलो, कुकुरडाइनो, भलायोलगायतका वनस्पतिहरू बिहानै घरमा ल्याएर राख्ने साँझतिर अगुल्टोसहित लुतो फ्याँक्ने चलन गाउँघरतिर अझै रहेको छ। यसरी लुतो फ्याँक्नाले वर्षभरि रोगब्याधिबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ।

    कतिपय स्थानमा साउने संक्रान्तिमा तिउरी कुटेर रस हातगोडाका नङमा लगाउने चलन पनि छ। मेहेन्दी लगाउने चलन पनि यसैबाट आएको होला भन्ने अनुमान गर्न सकिन्छ। कतिपय जातजातिले यस दिनलाई प्रकृतिको पूजा गर्ने र भविष्यको योजना बनाउने दिनको रूपमा लिन्छन्। पूर्वतिर किरातलगायतका समुदायले एकाबिहाने वन जंगलतिर गई फलफूल खोजेर ल्याई घरको मूल ढोकामा झुण्ड्याउने गर्छ। साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ। 

    यस्तै सुदूर पश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगब्याधि तथा खराब तत्त्वलाई भगाउँछन् । यता काठमाडौंलगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्वका साथ मनाउँछ। साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर ख्वाउने सबैजसो समुदायमा चलन छ।

    आर्थिक पक्ष
    नेपाली समाजमा आर्थिक कारोबार गर्नेहरूले पनि साउन १ गतेलाई विशेष दिन मान्छन्।  पैसा लेनदेन गर्नेहरूले नयाँवर्षको सुरुको दिन साउन १ गतेलाई नै मान्छन् । नेपाल सरकारको आर्थिक वर्ष पनि यसै दिन सुरु हुन्छ। सरकारी आय व्ययको विवरण साउन १ देखि असार मसान्तसम्मका लागि हुने गर्दछ। निजी क्षेत्रका कार्यालयहरूले पनि साउने संक्रान्तिदेखि नै नयाँ हिसाब राख्ने गर्छन्। यसबेला वर्षाको मध्य पर्ने भएकाले नेपाली जनजीवनमा खेतीपाती लगायतका कार्य चल्ने गर्छ। 

    हाम्रोजस्तो कृषिप्रधान मुलुकका मानिसहरूलाई असारमा रोपेको मानोलाई कसरी मुरी  बनाउने भन्ने ध्येय हुन्छ, साउनमा। असारमा रोपाइँ सकिएलगत्तै साउनमा कतिपय ठाउँमा धान गोड्ने कार्य सुरु हुन्छ। दुईबाली धान लाग्ने स्थानमा त हिउँदे धान भित्र्याएर वर्षे धान रोप्ने चटारो हुन्छ।

    साउनको धार्मिक महत्त्व
    सनातन धर्मअन्तर्गतका महत्वपूर्ण चाडपर्व साउन महिनामै पर्छ। श्रावणशुक्ल पञ्चमीमा पर्ने नागपञ्चमी, पूर्णिमाका दिन जनैपूर्णिमा यसै महिना पर्छन्। रसुवाको गोसाइँकुण्ड, सिन्धुपाल्चोकको पाँचपोखरी, सोलुखुम्बुको दूधकुण्ड, काठमाडौंको कुम्भेश्वरलगायतका स्थानमा श्रावण शुक्ल एकदशीदेखी पूर्णिमासम्म मेला लाग्छ। 

    विभिन्न समुदायमा साउनदेखिका चार महिनालाई चतुर्मासका रूपमा मनाउने चलन रहेको छ। केही समुदायले चार महिनाभरि अन्य कार्य नगरी एकै स्थानमा बसेर अध्ययन–अध्यापन चल्ने गर्छ। वैष्णव समुदायले यी चार महिनामा भागवत आदि पुराण लगाउने, भगवान् विष्णुको माहत्म्य सुन्ने सुनाउने लगायतका कार्य गर्दछन्। 

    साउने सोमवार
    साउने सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकोले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ श्रावण महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी मानिएको छ। यसदिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। 

    हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ। साउनको पहिलो सोमवार साउन २ गते परेको छ। यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार परेको छ। यो सौर गणनाको हिसाबले हो। तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्द्र तिथिबारको प्रयोग गर्नु भन्ने निर्देश छ। चान्द्र र सौर दुवै मिलेको भए अझै राम्रो। अर्थात् साउनको व्रत लिँदा चान्द्र पनि श्रावण नै होस्, सौर पनि साउन नै।

    भारतीय हिन्दूहरूले अघिल्लो सोमबारदेखि नै व्रत लिन सुरु गरेका छन्। हाम्रोमा भने साउन २ लाई पहिलो सोमवार मानिँदैछ। अघिल्लो सोमबार व्रत सुरु गर्नेले साउन २३ गते पूर्णिमाका दिन व्रत समापन गर्नेछन्।

    शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वेददेखि नै चलेको मानिन्छ। वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। पौराणिक ग्रन्थहरूमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता (देवाधिदेव) महादेव भनिएको छ । 

    शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वेददेखि नै चलेको मानिन्छ। वेदमा रुद्रको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुद्रका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। 

    साउनमा रुद्री
    साउनमा रुद्री लगाउने चलन भने नेपालीसमजमा चलेको देखिन्छ। विभिन्न कामना राखेर श्रावण महिनामा रुद्री गर्ने परम्परा छ। विशेषगरी सोमवार, नजुरे अन्य दिनहरुमा पनि ब्राह्मणहरूद्वारा रुद्राभिषेक गराइन्छ। रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ। धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुद्रलाई प्रसन्न पार्छन् । रुद्र प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी  रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामनाहरु पूर्ण हुन्छन् भन्ने विश्वास रहेको छ। 

    साउने सोमवारका गन्तव्य
    काठमाडौं वरपरका क्षेत्रका श्रद्धालु साउन महिनाको सोमवारको प्रमुख गन्तव्य बन्ने गरेको छ– पशुतिनाथ क्षेत्र।  पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ। नेपाल माहात्म्य एवं पौराणिक कथन अनुसार यस मृगस्थलीमा शिवले मृगरूप भई विहार गरेको उल्लेख छ। त्यसैले पनि यस क्षेत्रलाई मृगस्थली भनिएको हो। शिवकै इच्छानुसार भगवान् विष्णुले शिवलाई मृग (पशु) रूपबाट मुक्ति दिई लिङ्गको रूपमा पवित्र वागमतीको तटमा स्थापना गरेको पुराणहरुमा बताइएको छ। 

    पशुपतिनाथका साथै ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड लगायतका शिवालयहरूमा साउने सोमबारका दिन विशेष घुइँचो हुन्छ। केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ।
    dhitalramprasad@gmail.com

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]