|

दमक : गोलाप्रथाबाट पराजय भोगेका झापा, कमल गाउँपालिकाका हुकुमसिंह राई अहिले मतदातामाझ घरदैलोमा पुग्दै आएका छन्। नेपाली कांगे्रसबाट गाउँपालिकाको अध्यक्षमा उठेर गोलाबाट पराजय खेप्नुपरेका उनले पराजयलगत्तै मतदाताका घर–घरमा धन्यवाद दिन पुग्दै आएका हुन्।

आफूलाई मत दिने गाउँवासीहरुलाई धन्यवाद दिन उनले वडा–वडाका टोलटोलमा पुगिरहेका छन्। उनी भन्छन्,‘मतदाताले दिएको सम्मान कदर गर्न मैले धन्यवाद दिँदै घरघरमा पुग्दै आएको छु।’ एमालेको गढ मानिने त्यस गाउँपालिकाको अहिलेसम्मको चुनावमा कांग्रेसका अध्यक्षका उम्मेदवारभन्दा अन्यले त्यतिका मत ल्याएका छैनन्। उनले एमालेकी नेत्री मेनुका काफ्लेसँग गोलाप्रथामा हार व्यहोरेका थिए।  दुवैले ८२७५ मत प्राप्त गरेका थिए।

गोलामा चुकेका राईले पराजयलाई प्राविधक मात्र हार भएको टिप्पणी गर्छन्। चिठ्ठाबाट पद गुमाएको स्मरण गदैं भन्छन्,‘गोलाप्रथाले पद गुमाएँ,जनताका बीचमा जित प्राप्त गरेको छु।’ जनताले दिएको यतिका मतलाई सधैं सम्मान गर्छु।’ सराङपाडामा घरदैलोमा व्यस्त राईले भने,‘गोलाले हारें तर जनताले जिताएका छन्, त्यसैले पनि मैले हिजो पुगेका सबैका घरमा धन्यवाद दिँदै पुग्दै छु।’

उनले मतदाताहरुले देखाएका सहानुभूतिले आफूलाई भोलिका लागि ऊर्जा मिलेको अनुभव सुनाउँछन्। राजनीतिमा हारजित स्वाभाविक हो भन्दै उनी हिजो जनतामाझ गरेका प्रतिवद्धता नीति निर्माणमा नपुगे पनि बाहिर बसेर पनि जनताको सेवक बन्ने लक्ष्य लिएको बताउँछन्। उनी भन्छन्,‘गोलाले दिएको झापड भोलिका लागि मैले शिक्षा लिएको छु।’

उनले कमल गाँउपालिकाका ७ वटा वडाका टोल टोलसम्म जारी धन्यवाद अभियान सञ्चालन गरिने बताए। एक सातायता राईले कमल गाउँपालिकाको साविक तोपगाछी क्षेत्रका विभिन्न वडाहरुमा धन्यवाद दिँदै घरदैलोमा सक्रिय रहेको वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष केदार कटुवालले बताए।  उनले कांग्रेसलाई मतदान गर्ने सबै मतदातामाझ धन्यवाद दिन राई सहितका कांग्रेसका कार्यकर्ताहरु घरदैलोमा व्यस्त रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.