|

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सदस्यहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउन माग गरेका छन्।

क्रकस सिटी कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणमा १३० जनाभन्दा बढीको मृत्यु भएपछि उनीहरूले तीव्ररूपमा यो आवाज उठाएका हुन्। पुटिनका दुई घनिष्ठ सहयोगी पूर्व राष्ट्रपति एवं हाल सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेव र ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले पनि आक्रमणपछि आतंकवादीलाई नष्ट गर्न आह्वान गरेका छन्।

‘आतङ्कवाद र हत्याको सन्दर्भमा मृत्युदण्डको सजाय फिर्ता ल्याउन आवश्यक छ’, ड्युमाका सुरक्षा समितिका उपप्रमुख युरी अफोनिनले भने। 

रुसले सन् १९९० को दशकदेखि मृत्युदण्डको सजायमा रोक लगाएको थियो तर दुई दशकयता देशमा भएको सबैभन्दा घातक हमलापश्चात यो प्रावधान हटाउनुपर्ने माग बढेको हो। 

‘हाल मृत्युदण्डको प्रावधानबारे अनेक प्रश्नहरू आइरहेका छन्’, संसदको तल्लो सदन ड्युमामा सत्तारूढ युनाइटेड रसियन पार्टीका प्रमुख भ्लादिमिर भासिलिभले एक भिडियोमार्फत भने, ‘यो विषयमा निश्चितरूपमा गहिरो, व्यावसायिक र ठोस छलफल गरिनेछ । हाम्रो समाजको अपेक्षा पूरा गर्ने गरी निर्णय लिइनेछ ।’

रुसी संसदमा पुटिनका समर्थक अन्य दुई पार्टीका प्रमुखहरूले पनि यस विषयमा समर्थन जनाएका थिए । स्वतन्त्र मिडियाजोना समाचार साइटका अनुसार सन् २०२३ मा अधिकारीहरुले १४३ आतंकसँग सम्बन्धित फौजदारी मुद्दा रेकर्ड गरेका थिए । 

अधिकारवादीले भने मृत्युदण्डको प्रावधान फर्काउँदा अन्य कसुरका मानिस पनि मारिने भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘यदि आतंकवादका लागि मृत्युदण्डको सजायलाई अनुमति दिने हो भने यो प्रावधानले कति मानिसहरूलाई मार्नेछ भन्ने अनुमान गर्न सकिन्छ’,  महिला अधिकारकर्मी एलोना पोपोभाले भनिन्, ‘कुनै हिसाबले आतंकवादी नरहेका पनि हाल धेरै मानिस जेलमा छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.