|

बैतडी :

- ‘म सुदुरपश्चिम पुग्दा लोडसेडिङ देखेँ, तत्काल लोडसेडिङ अन्त्य हुनुपर्‍यो।’

- ‘हुन्छ म चार/पाँच दिन भित्रै त्यो क्षेत्रको लोडसेडिङ हटाउँछु।’

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच असार दोस्रो साता भएको संवाद हो यो।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको प्रचारप्रसारका क्रममा तीन दिन सुदूरपश्चिम बसेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौं फर्केलगत्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफ्नै निवासमा बोलाए। र, अन्य क्षेत्रमा जस्तै सुदूरपश्चिममा पनि तत्काल लोडसेडिङ हटाउन आग्रह गरे।

घिसिङले पनि ४/५ दिन भित्रै लोडसेडिङ अन्त्य गर्ने आश्वासन दिए।

त्यसपछि केही दिन लोडसेडिङ हट्यो पनि। प्रचण्डको पहल र कुलमानको कामले हर्षित सुदूरपश्मिवासीको खुसी धेरै दिन टेकेन। बिजुली अभाव जस्ताका तस्तै भएपछि यस क्षेत्रका नागरिक निराश मात्रै छैनन्, आक्रोशित पनि छन्। तराईका कैलाली र कञ्चनपुर जिल्लामा विद्युतभार केही कटौती भएपनि पहाडी जिल्लामा भने विद्युत भार बढेको छ।

पहाडी जिल्ला मर्कामा

चुनाव सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा दैनिक रुपमा विद्युत सेवा अनियमित बन्दै गएको छ। विद्युत सेवा अनियमित हुन थालेपछि बैतडी लगायत सुदूरपश्चिमका पहाडी क्षेत्रका नागरिक मारमा परेका हुन्। कैलालीको फलटुडे प्रशारण लाइन र भीमदत्त राजमार्गको आसपास क्षेत्रमा दिनहुँ समस्या देखिन थालेपछि करिब एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लाको विद्युत सेवा अस्तव्यस्त बनेको हो।

‘देशका अन्य भूभागमा सरकारले उज्यालो नेपालको अवधारणा ल्याई लोडसेडिङ मुक्त अभियान चलिरहेको छ। तर सुदूरपश्चिमलाई किन विभेद?’ बैतडीको पाटनका स्थानीयवासी राजेन्द्र विष्टले प्रश्न गरे।

विगतका दिनमा हावाहुरी र चट्याङले बिजुलीका पोल तथा ट्रान्सफर्मरमा क्षति पुर्‍याउँदा अन्धकारमा बस्न बाध्य यस क्षेत्रका नागरिक अहिले झन् सास्ती खेप्न बाध्य छन्। ‘एकैछिनमा आउँछ अनि एकै छिनमा जान्छ। कामकाज गर्न निकै सास्ती भएको छ’, बैतडीको गोठलापानीमा मोबाइल मर्मत पसल सञ्चालन गर्दै आएका डीबी भाटले बताए।

विद्युत सेवा अनियमित भएपछि यस क्षेत्रका सञ्चार माध्यम प्रत्यक्ष मारमा छन्। विकट पहाडी क्षेत्रमा सूचना समाचार सप्रेषण गरिरहेका एफएम स्टेसनहरु बत्ति जाँदा बन्द हुन्छन्। ‘विद्युतकै कारण रेडियो पनि नियमित हुन सकेको छैन’, बैतडीको शनशेर एफएमका स्टेसन म्यानेजर नरि बडुले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.