|

एडिलेडः यस वर्ष अष्ट्रेलियामा जारी नेपथ्यको शृंखलावद्ध प्रस्तुतिअन्तर्गत दोस्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा सम्पन्न भएको छ। 
स्तरीय वाइन र त्यसका निम्ति गरिएको फराकिलो अंगुर खेतीका फाँटहरूको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्याली नजिकै रहेको यो शहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो।

सिड्नी र मेलबर्नको तुलनामा एडिलेडमा असाध्यै थोरै नेपालीहरूको बसोवास रहेको छ। यति हुँदाहुँदै पनि लगभग तीन हजार नेपालीको बसोवास रहेको यस शहरमा झण्डै तीस प्रतिशत मानिस नेपथ्यलाई हेर्न र सुन्न कन्सर्ट हल आइपुगेका थिए।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरूलाई एकतामा जोड्ने काम गर्छ’, आयोजक समितिका खुम घले भन्छन्, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो।’

सन् २०१२ मा नेपथ्य सिड्नीको टाउन हलमा प्रस्तुत हुँदै गर्दा धेरै दर्शकहरू सुरक्षाका कारण बाहिरै रहन बाध्यभएकामध्ये भले पनि एक हुन्।

‘सिड्नीको मुटुमै रहेको त्यो प्रसिद्ध हलबाहिर कुनै नेपाली कार्यक्रमकै कारण सडकमा ट्राफिक जाम भएको र थुप्रै प्रहरी परिचालन गर्नुपरेको त्यो घटना आफैँमा अविष्मरणीय बन्नपुगेको थियो’, खुम भन्छन्, ‘त्यतिबेला अगाडि नै हल भरिएको कारणले सयौँ दर्शकहरू कार्यक्रम नहेरी फर्किनुपरेको थियो।’

शनिबार एडिलेडको कार्यक्रममा भने एक जना पनि नेपाली दर्शक निराश भएर फर्किनु नपरेकोमा खुम आफूलाई गौरव लागेको बताउँछन्।

‘हामी नेपालीको प्रिय ब्याण्ड बन्नपुगेको नेपथ्यले स्थापनाको २५ वर्ष मनाइरहेको बेला एडिलेडमा एक जना पनि दर्शक फर्किनुपरेन’, खुमले भने, ‘कार्यक्रमको महत्त्वलाई पूर्वानुमान गरेर सुरुमै हामीले फराकिलो हल र उचित व्यवस्थापन अपनाएका थियौँ। 

आफ्नो भवनमै घण्टाघरसमेत समेटेको सय वर्ष पुरानो नरउड कन्सर्ट हल आफैँमा एडिलेडमा रहेको ऐतिहासिक भवन हो।

कार्यक्रमको प्रारम्भमै नेपथ्यको भर्खरै रिलिज भएको म्युजिक भिडियो ‘घरको कुरा’ प्रस्तुत गरिएको थियो। गीतको भावले दर्शकहरूको मन छोएको देखिन्थ्यो।
यतिबेला दक्षिणी गोलाद्र्धमा जाडोको महिना चलिरहेको छ। अर्थात् जब वायुको तापक्रम ११ डिग्रीमा ओर्लिएको थियो, ठीक त्यतिबेलै नेपथ्यको कन्सर्ट सुरु हुनेबित्तिकै नरउड हलको तापक्रम भने उच्च बन्नपुगेको थियो। ‘शिरफूल’देखि लिएर ‘यो जिन्दगानी’सम्म दर्शकले अमृत सँगसँगै गाएका थिए।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महसुस गर्न पाउँदा आनन्द लागिरहेको छ’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘स्टेजबाट गाइरहेको बेला अन्धकारले गर्दा दर्शकदीर्घा जसै म देख्न सक्दिनँ, त्यसैगरी त्यस क्षणले मलाई म स्वदेशमा गाइरहेको छु वा विदेशमा भन्ने छुट्याउन नसक्ने गरी आत्मीयता महसुस गराइरहेको हुन्छ।’

केही लोकधूनमा आधारित गीत र भावनात्मक गीत सुनाएपछि नेपथ्यले दर्शकहरूलाई आफ्नो देशभक्तिमा आधारित नयाँ रेकर्ड ‘हामी नेपाली’ सुनाएको थियो। अमृतले गीतको थालनी गर्दै ‘तिमी पनि नेपाली’ के भनेका थिए, जवाफमा दर्शकको भीडले नै गाएर ‘म पनि नेपाली’ भनेको थियो। फेरि सबै जनाले संयुक्त स्वरमा गाएका थिए, ‘हामी नेपाली, हामी नेपाली।’

केही दिनअघि मात्र अमृतले यस गीतको संगीत र एरेन्जमेन्टको बारेमा फेसबुक पेजमार्फत् जानकारी गराएका थिए। यो गीतलाई रवीन्द्र मिश्रले लेखेर अमृतलाई हस्तान्तरण गरेका थिए। त्यो शब्दलाई अमृतले आफ्नो गोठ बसाइकै बेला संगीतबद्ध गरेको जानकारी त्यसमा थियो। 

नेपालीपारामै संगीतवद्ध गरिए तापनि यसलाई एरेन्जमेन्ट गर्दा भने ‘रक’ शैलीको प्रभाव पर्न गएको अमृतले उनको फेसबुकमा खुलासा गरेका थिए। अमृतले विश्वप्रसिद्ध रक ब्याण्ड एसीडीसीका गायक ब्रेन जोन्सनको सम्झना गर्दै उनकै प्रभाव यस गीतमा कताकता परेको जानकारीका साथ उनलाई नै यो गीत समर्पण गरेका थिए।

त्यसपछि अमृतले लोकगीतहरूको अर्को शृंखला थालनी गर्नुअघि नेपालका कुनाकन्दरा घुम्दै लोकगीत संकलनका आफ्नाअनुभवहरू दर्शकसँग साटेका थिए। 
‘हिजो मात्र मोरियाल्टा कन्जर्भेसन पार्क घुम्दै गर्दा म त्यसको सुन्दरतामा रमाउन पाएँ। यस्तो लाग्यो, म नेपालै घुमिरहेको छु’, उनले थपे, ‘यदि तपाईंलाई नेपालको यादले छटपटी भइरहेको छ भने तपाईं पनि यो पार्कमा गएर घुम्न नबिर्सनु होला।’

रातको ठीक ७ बजे सुरु भएको कन्सर्ट दुई घण्टासम्म चलेको थियो।

अमृतलाई सधैँझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब सिड्नीमा भव्य प्रस्तुतिका लागि न्यु साउथवेल्स राज्यतर्फ प्रस्थान गर्नेेछ। विश्वप्रसिद्ध हार्बर ब्रिजकै तलअवस्थित लुना पार्कको विशाल अडिटोरियममा जुलाई २२ तारिखका दिन नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक, रक धूनहरू घन्काएर सिड्नीलाई तरंगित बनाउने अठोट लिएको गायक गुरुङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.