|

काठमाडौं : 'प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन', नारायणगढ-काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने। दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे।

'बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छ', उनले भने, 'ज्यानको माया मारेर हिँड्नुपरेको छ।' खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ। यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन। पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए।

२८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन। सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो। त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपर्थ्यो। त्यसपछि पनि दुईपटक म्याद थपिएको छ।

त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो। सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ। अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ। वर्षातको समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन्। कच्चा पदार्थको अभाव रहेको प्याकेज नम्बर १ का कन्ट्र्याक्ट म्यानेजर प्रभु जोशीले बताए।

विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ। ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ। खाल्डो नपुर्दा जोखिम बढेको छ। गाडी चल्दाचल्दै पहिरोको जोखिम क्षेत्रमा रोकिनुपर्ने अवस्था रहेको ट्रक चालक निजगढका मोहनबहादुर घिमिरेले बताए। 'भीर, पहिरो छ, कति खेर के हुने हो कुनै ठेगान छैन', घिमिरेले भने, 'सडक पार नगर्दासम्म बाँचिएलाजस्तो लाग्दैन। समाधान कहिले होला माथि कुरा पुर्‍याइदिनुपर्‍यो हजुर।'

उक्त सडकखण्डमा सवारीसाधन रोक्न नपाइने भएपछि खाना खान नपाएको गुनासो उनले गरे। गाडी बिग्रेको अवस्थामा पनि आधा घन्टासम्म मात्र रोक्न पाइन्छ। दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन्।

उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ। ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन्। सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन्। आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो।

एक सय ३८ वटा ठूलो पहिरो खसिसकेको छ। पहिरोमा पुरिएर चार प्रहरी र दुई सर्वसाधारणले ज्यान गुमाएका छन्। पहिरो हेर्ने क्रममा चिप्लिएर एकको मृत्यु भयो। एक जना बेपत्ता छन्। झरी पर्नासाथ पहिरो खसिहाल्छ। अन्य बेला सुख्खा पहिरो खस्ने गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २०७१ चैतदेखि हालसम्म यो खण्डका विभिन्न स्थानमा भएको दुर्घटनामा ७२ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन्। अहिलेसम्म ७८ वटा ठूला दुर्घटना भएको तथ्यांक छ।

सम्झौताअनुसार १५ डिग्रीमा बाटो भिरालो गरिएको आयोजनाले जनाएको छ। तर, यो पर्याप्त छैन। कम्तीमा पनि ४५ डिग्रीमा कटान गर्नुपर्ने देखियो। पहाडको बीच भागमा कटान गर्न प्रयोग गर्ने मेसिन राख्दा बनाइएको भागले पहाड कोप्रो भयो अनि यसैले गर्दा पहिरो झरिरहन्छ।

पहाड कटानको कारण समस्या पनि पहिरो खसेको आयोजनाका इन्जिनियर शिव खनालले बताए। 'सम्झौताअनुसार १५ डिग्रीको डिजाइनमा कटान गरे पनि त्यो पर्याप्त भएन। त्यसैले कटान नमिलेको चाहिँ पक्कै हो', खनालले भने, 'केही मानवीय त्रुटि पनि छ कतिपय प्राकृतिक कुरा पनि छन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.