|

काठमाडौं : नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन्। शनिबार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा उनले यस्तो बताएका हुन्।

उनले हाल नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको जिकिर गरे। उनले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा रहेको बताए।

उनले कतिपय उद्योग व्यवसायहरु बन्द भइसकेका र कतिपय बन्द हुने अवस्थामा रहेको भन्दै ठूला उद्योगहरुमा समेत यसको असर परिरहेको जिकिर गरे।

उनले विकास निर्माणका गतिविधिहरु बढाइनुपर्ने आवश्यकता रहेको बताए। उनले पुँजीगत खर्च बढाई अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न पनि आवश्यक रहेको बताए।

उनले आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि कानुन सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई नयाँ सन्देश दिने महत्वपूर्ण हुने विश्वासका साथ परिसंघले दिएका कानुन सुधारका विषयलाई सरकारले उच्च प्राथमिकता राख्नुपर्ने बताए।

उनले भने, ‘हाल नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा छ। अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगी, व्यवसायीहरुले भन्दै आइरहेको समस्या समाधान गर्न मौद्रिक नीति थप लचिलो हुनुपर्छ। विकास निर्माणका गतिविधिहरु बढाइनुपर्ने आवश्यकता छ। पुँजीगत खर्च बढाई अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न हामीले सरकार नियामक निकायहरुलाई आग्रह गर्दै आएका छौँ।'

अध्यक्ष अग्रवालले सरकार राजश्वमुखी हुँदा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको बताए। उनले सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको भने पनि व्यवहारमा लागू गर्न नसकेको बताए।

कृषिमा परनिर्भरता हटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक रहेको बताए। उनले आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.