|

सुर्खेत : कर्णालीमा आज आएको हावाहुरीसहित असिना पानीले व्यापक क्षति गराएको छ।

हावाहुरी र असिना पानीले विषेशगरी गहुँ, जौ, तरकारीलगायत हिउँदे बालीनालीमा क्षति पुर्‍याएको हो। टिप्नै लागेको गहुँ बालीमा असिनाले क्षति पुर्‍याउँदा किसानहरू भने चिन्तित बनेका छन्। 

असिना राजधानी वीरेन्द्रनगरमा विगत चार पाँच वर्षयताको सबैभन्दा धेरै परेको स्थानीयहरूले बताएका छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर वलीले हावाहुरीले विभिन्न ठाउँमा गराएको क्षतिबारे जानकारी लिने काम भइरहेको बताए।

जाजरकोटको बारेकोटमा भूकम्प पीडितका अस्थायी टहरादेखि गाउँपालिकाको वडा नम्बर २ मा रहेको स्वास्थ्य शाखाको भवन र प्रहरी चौकीको छानो हावाले उडाएको जाजरकोट प्रहरीले जनाएको छ। नलगाड नगरपालिकाका विभिन्न ठाउँमा रहेका अस्थायी टहराहरु हावाहुरीले उडाएको छ। कुशे गाउँपालिकाका आधा दर्जन विद्यालयमा क्षति पुगेको छ। 

यस्तै रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९, मा रहेको इलाका प्रहरी कार्यालयको जस्तापाताले छाएको भान्सा घरमा क्षति पुगेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

उक्त प्रहरी चौकीको जस्तापाता हावाले उडाएको सूचना अधिकारी धर्मेन्द्र खड्काले बताए। प्रदेश प्रहरी कार्यालयकाअनुसार हुम्लामा एक पनि प्रहरी चौकीमा क्षति भएको तर पुरा विवरण आउन बाँकी छ। 

हावाहुरीका कारण कर्णालीको विद्युत् अवरुद्ध भएको छ। गाउँ ,गाउँमा क्षती भए पनि अझैँ विवरण आउँन केही समय लाग्ने देखिन्छ। क्षतिको विवरण संकलनका कामहरु जारी रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.