पहिलेको भन्दा चाप बढ्यो: आयोग

|

काठमाडौँ : शिलु महर्जन, (२०) कान्तिपुर कलेजमा स्नातक तहकी विद्यार्थी सोमबार कक्षाबाट घर नगई बबरमहलस्थित निर्वाचन आयोगको कार्यालय पुगेकी थिइन्।

थानकोटकी शिलु निर्वाचन आयोगमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउन पुगेकी हुन्। स्थानीय तहको निर्वाचनको पहिलो चरण बैशाख ३१ गते भएको मतदानमा उनले सहभागिता जनाउन पाएकी थिइनन्। उनको मतदाता नामावलीमा नाम थिएन।

आफूभन्दा कम उमेरकाले मतदान गरेको देखेर उनी दुखी भएकी रहिछन्। फोटो खिचाएर आएकी उनले भनिन्, 'अलि नर्भस भइयो। पहिलोचोटि मतदाता नामावलीमा नाम लेखाएको।' उनलाई भोट दिन पाइने भयो भन्ने खुसी लागेको रहेछ। उनले भनिन्, 'त्यतिबेला (स्थानीय तहको चुनावमा) मेरै र मभन्दा कम उमेरकाले भोट हालेको देख्दा नराम्रो लाग्यो। अबचाहिँ भोट हाल्न पाइने भयो।'

साउन १ गतेदेखि १५ गतेसम्म निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा लक्षित गर्दै मतदाता नामावली संकलन गर्दै छ। त्यसअनुरूप आज काठमाडौँका दुई ठाउँमा मतदाता नामावली संकलन भइरहेको छ, बबरमहल र बिजुली बजारमा। जहाँ शिलु जस्तै पहिलोचोटि मतदान  गर्ने र पहिले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका मतदाता पुगेका थिए।

जीतपुरफेदीकी अस्मिता अर्यालले आजै दिउँसो नागरिकता बनाएकी थिइन्। नागरिकता बोकेर उनी प्रशासन कार्यालय नजिकै रहेको मतदाता नामावली संकलन गरिरहेको निर्वाचन आयोगको कार्यालय पुगेकी थिइन्। नागरिकता बनेकामा र मतदाता नामावलीमा नाम लेखाउन पाएकामा उनी खुसी थिइन्।

उनले दुवैतिरको अनुभव सुनाइन्, 'नागरिकता बनाएर सिधै यता आएकी, दुइटै काम एकै दिन सकेकी, अबको चुनावमा भोट हाल्न पाइने भयो।'

नागार्जुन नगरपालिकाका ५८ वर्षका पदमराज देवकोटाले आफूले पनि मतदाता नामावली फारम भरेका थिए। साथै उनले छोरी र छोराका लागि भनेर तीनवटा फारम पनि सँगै लगे। उनलाई पहिलेको चुनावमा भोट हाल्नेगरी मतदाता नामावली नबनाएकोमा पछुतो लागिरहेको रहेछ। उनले भने, 'पहिला वास्ता गरिएन। एकपछि अर्को चुनाव आउन थालेकोले नाम लेखाउन आएको।' उनले फारम मागे र परिवारका अन्य सदस्यको पनि घरमै फारमा राम्रोसँग भरेर 'भोलि बुझाउँला' भन्दै बाटो लागे।

पहिलो चरणको स्थानीय तह निर्वाचनका बेला मतदाता नामावलीमा नाम नभएर भोट हाल्न नपाएकोमा नरमाइलो मानिरहेकी थिइन्, त्रिपुरेश्वरकी विमला मास्के। उनले भनिन्, 'मतदाता लिस्टमा बुढा र छोराको नाम छ, मेरो छैन। भोट हाल्न पाइएन। त्यसैले अहिले आएको नाम लेखाउन।'

७४ वर्षकी मास्के एक घण्टा अलमलमा परेकी थिइन्। निर्वाचन आयोगमा रहेको भीडले उनलाई के गर्ने, कसो गर्ने भन्ने अन्योल रहेछ। उनले असन्तुष्टि पोखिन्, 'म बुढी मान्छेलाई एक घण्टादेखि कुराए। निर्वाचन आयोगले राम्रो व्यवस्थापन गरेन।'

निर्वाचन आयोगको कार्यालयमा पुगेर नाम लेखाउन नपाई फर्किने पनि थिए। त्यस्तैमध्येकी एक थिइन्, बानेश्वरकी ८२ वर्षकी विन्दुदेवी रायमाझी। मोरङको विराटनगरबाट नागरिकता लिएकी उनले काठमाडौँ बसाइँ सरेका कागजपत्र बोकेकी थिइनन्। यसका कारण उनी काठमाडौँकी बासिन्दा हुन् भन्ने प्रमाण नपुगेको भन्दै आयोगले फर्काएको थियो।

२०२० सालमा काठमाडौँ आएर यसअघिका निर्वाचनमा भोट हालेको तर अहिले दुःख दिएको भन्दै रायमाझीले आक्रोश पोखिन्। 'पहिलाकै मतदाता परिचयपत्रले चलाउनुपर्ने नि! अनि २० सालदेखि यतै बसेकी मलाई फर्काइदियो', उनले भनिन्, 'नागरिकता मात्रै ल्याउनु भनेको पहिले, अहिले केके माग्छ केके, पहिलाको कागजात हुनुपर्ने नि यिनीहरूसँग!'

निर्वाचन आयोगले काठमाडौँबाहिरबाट नागरिकता लिएर काठमाडौँमा स्थायी रूपमा बसोवास गरिरहेकासँग थप कागजात मागेको थियो।

मतदाता नामावली संकलन गर्ने ठाउँमा बिहानैदेखि भीड लागेको क्षेत्रीय निर्वाचन अधिकृत चन्द्र गौतमले बताए। उनले काठमाडौँमा दुई ठाउँमा छवटा कम्प्युटरबाट मतदाता नामावली संकलन भइरहेको बताए। 'पहिले छुटेकाका लागि भनेर नयाँ नामावली संकलन गर्न खोजेका थियौँ', उनले भने, 'अस्तिको चुनावले होला मतदाता नामावली दर्ता गराउनेको बिहानैदेखि लाम छ। यसअघि पनि यति धेरै चाप थिएन।'

गौतमले काठमाडौँमा मतदाता संकलन केन्द्र थप्नुपर्ने अवस्था आएको बताए। उनले भने, 'आज रिपोर्ट निर्वाचन आयोगमा पठाउँछौँ। थप गर्‍यो भने सहज होला।' यही जनशक्तिले काम गर्न भने कठिन भएको उनले बताए।

हेर्नुहोस् फोटामा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.