|

काठमाडौं : गत शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भयो।

र्‍याली भद्रकालीबाट माइतीघर तर्फको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भयो। प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठी हान्यो।

निषेधित क्षेत्र तोड्न खोज्दै प्रदर्शनकारीले प्रहरीमाथि अन्धाधुन्ध ढुंगा हान्न थाले। सुरूवातमै प्रहरीमाथि हावी भएको भिडलाई तितरवितर गर्न प्रहरीले पनि अन्धाधुन्ध लाठी हान्न थालिहल्यो।

झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी परिसरले जनाएको छ। महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका थिए। दुई पक्षबीच झडपको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर आफ्नो बाटो लागेका थिए।

भिक्षुमाथि प्रहरीको लात्ती, चौतर्फी निन्दा

विभिन्न जातीय र धार्मिक समुदाय सम्मिलित प्रदर्शनकारी र सर्वसाधारणलाई तितरबितर पार्ने क्रममा प्रहरीबाट एक भिक्षुमाथि दुर्व्यवहार भएको भिडियोमा देखिएको छ।

उक्त आन्दोलनमा भिडलाई तितरवितर गर्ने क्रममा एकजना भिक्षुमाथि दुर्व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको पक्ष र विपक्षमा टिप्पणी चलिरहेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उक्त प्रकरणको विरोध गरेका छन्।  भिडियो सेयर गर्दै उनले लेखेका छन्, ‘चित्तै नबुझ्ने, मनै कुँडिने यो के गरेको?  @hamrorabi @PM_nepal_ @NepalPoliceHQ ? यो त अति भो।'

अर्का फेसबुक प्रयोगकर्ता जीवन कुँवर लेख्छन्, ‘यी भिक्षुहरूले के बिगारेका थिए होलान् र?’

सुमन नामका प्रयोगकर्ताले भिडियो सेयर गर्दै भिक्षुमाथि लात्ती प्रहार गर्नु गलत नै मानौँ , तर ती भिक्षुको आवरणमा देश टुक्र्याउन पाउनुपर्छ भन्दै राजेन्द्र महतोलाई साथ दिन प्रहरीलाई ढुङ्गामुढा गर्न गएका एक अराजक व्यक्ति रहेको जिकिर गरेका छन्।  ‘धेरै भावनामा बग्न जरुर छैन है। सत्यतथ्य नबुझी भावनाको खेती नगर्नुस्’, उनले लेखेका छन्।

भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई विभागीय कारबाही

प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आइतबार एक सूचना जारी गर्दै प्रधान कार्यालयले भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको समेत जनाएको छ।

 ६ क्षेत्रमा प्रहरीको सेवा

विशेष गरेर प्रहरीले देशका विभिन्न क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।

अपराध अनुसन्धान, अपराध नियन्त्रण, सवारी तथा ट्राफिक व्यवस्थापन, भिआइपी सुरक्षा तथा विपद् व्यवस्थापन र शान्ति सुरक्षा भिड नियन्त्रण जस्ता कार्य प्रहरीले गर्ने गरेको छ।

यो वर्ष देशभर करिब ५ हजार ८ सय ७६ बन्द हडताल तथा विरोध प्रदर्शन भएका छन्। जसमा १ लाख ४८ हजार ३ सय ७७ जना प्रहरी परिचालन भएका थिए। प्रदर्शनमा एक हजार २ सय ९० जना पक्राउ पर्दा १ सय ९० जना घाइते भएका थिए। तीन जनाको मृत्यु भएको थियो।

भिड नियन्त्रण गर्न प्रहरी कति बल प्रयोग गर्‍यो?

यो वर्ष मात्र प्रहरीले प्रदर्शनकारीमाथि १ हजार १ सय ६६ सेल ग्यास सेल प्रयोग गरेको छ। त्यस्तै, ३ सय २४ राउण्ड हवाई फायर  गरेको छ भने ९७ राउण्ड रबर बुलेट हानेको तथ्यांकमा उल्लेख छ।

प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल प्रहरीले गर्ने बल प्रयोग कानुनसम्मत हुने बताउँछन्। कुनै पनि आन्दोलनमा प्रहरीले मनगणन्ते हिसाबले बल प्रयोग गरेको छैन। स्थानीय प्रशासन ऐन र कार्यविधिअनुसार प्रहरीले बल गर्ने उनले बताए।  ‘आत्मरक्षा, सरकारी सम्पत्तिको सुरक्षा, थप क्षतिको आंकलन तथा भिड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्ने गर्छ’ थाहाखबरसँग  उनले भने।

तर, प्रहरीबाट गल्ती नै नहुने भन्ने नभएको उनको भनाइ छ। ‘कुनै मुठभेडमा  सम्झाउने, बुझाउने, माइकिङ गर्ने र बल प्रयोगको पूर्वसूचना प्रहरीले दिने गरेको छ’, उनले भने, ‘यसमा पनि भिड अनियन्त्रित हुन थालेपछि प्रहरीले नचाहेर बल प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.