|
फाइल फोटो

काठमाडौं : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य सजिलै हासिल गर्ने दावी गरेका छन्।

मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले आर्थिक गतिविधि बढाउने गरी पुनर्निर्माणमा लगानी विस्तार, भन्सार विन्दुहरुमा सुरुवात गरिएको नयाँ प्रणाली, लगानी अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप, राजस्व प्रशासनको विस्तारित क्षमताका कारण राजस्व लक्ष्य प्राप्त हुने बताए।

अघिल्लो सरकारका अर्थ मन्त्री कृष्णबहादुर महराले संसदमा आर्थिक वर्ष २०७३/७४ को बजेट वक्तव्य मार्फत राजस्वको लक्ष्य ७ खर्ब ३० अर्ब रहेको उल्लेख गरेका थिए।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा ६ खर्ब ११ अर्ब ७६ करोड ७८ लाख ९६ हजार राजस्व संकलन गरेको थियो। मन्त्री कार्कीले कर आधारको विस्तार र कर प्रणाली सुदृढ हुँदै गएकाले पनि राजस्व संकलनमा वृद्धि हुँदै गएको पनि स्मरण गराए।

अर्थ मन्त्रालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न चुहावट नियन्त्रणका लागि कठोर नीति लिने योजना पनि बनाएको छ। मन्त्री कार्कीले करको दायरा विस्तार, कर परिपालनामा अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि कठोर नीति अवलम्बन गरी राजस्व संकलन लक्ष्यभन्दा बढि असुल गर्ने योजना बनाइएको पनि बताए। उनले राजस्व संकलनले अर्थतन्त्रलाई सवल र सक्षम बनाउने पनि उल्लेख गरे।

मन्त्री कार्कीले आर्थिक गतिविधिलाई पारदर्शी, सुदृढ र सक्षम बनाउन राजस्व प्रशासन प्रणालीलाई बलियो बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.