|

बाँके : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले ५ सय ८७ जना ग्राहकको (कोहलपुर र खजुरा बाहेक) विद्युत् लाइन काटेर १ करोड ३२ लाख २१ हजार रुपैयाँ असुल गरेको छ। यी ग्राहकबाट ७२ लाख २० हजार चुहावट रकम समेत असुली गरेको लेखा अधिकृत केशर वहादुर ठाडाले जानकारी दिए।

उनले अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७३/०७४ मा लाइन काटेर धेरै रकम असुली भएको बताए। ‘लामो समयसम्म विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटेर महसुल असुलउपर गरिएको छ,’ उनले भने।

वितरण केन्द्रले एकवर्षको अवधिमा २ लाख २० हजार यूनिट चुहावट विद्युतबाट ४२ लाख ८४ हजार १ सय २ रुपैयाँ असुल गरेको छ। विद्युत चुहावट नियन्त्रण दल परिचालन गरेर विद्युत प्राधिकरणले बाँकेका विभिन्न स्थानमा छापा मारेर लुकीछिपी विद्युत प्रयोग गर्नेलाई नियन्त्रणमा लिएर जरिवाना र महशुल असुल उपर गरेको छ।

लेखा अधिकृत केशर बहादर ठाडाका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा विद्युत चोरी गर्ने ३ सय २४ जनालाई नियन्त्रणमा लिएर रकम असुली गरिएको छ। ‘विद्युत प्राधिकरणको अनुमति नलिएर हुक गरेर विद्युत प्रयोग गरिरहेको ठाउँमा पुगेर प्रयोगकर्तालाई नियन्त्रणमा लिएर प्रचलित नियम अनुसार जरिवाना र महसुल असुल उपर गरिएको छ,’ उनले भने।

आव २०७२/०७३ भन्दा आव २०७३/०७४ मा दोब्वर बढि रकम असुली गरिएको उनले जानकारी दिए। आव २०७२/०७३ मा लुकिछिपी विद्युत प्रयोग गर्ने २ सय २० जनासँग १९ लाख ८९ हजार १ सय ६७ रुपैयाँ असुली गरिएको थियो।

विद्युत् प्राधिकरण वितरण केन्द्र नेपालगन्जले एक वर्षको अवधिमा १ अर्व १४ करोड राजस्व संकलन गरेको छ। वितरण केन्द्रले २५ करोड ९१ लाख ४२ हजार ६ सय ६० रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी छ। सामान्यतयाः १५ करोड बक्यौता हुनु स्वभाविक मानिने वितरण केन्द्रका लेखा अधिकृत ठाडाले बताए। ‘तीन महिनाको बक्यौता रकम असुल गर्न बाँकी छ, यो नियमित प्रक्रिया अन्तरगत हो, दुई महिनाको विद्युत महसुल रहिरहन्छ,’ उनले भने।

सडक बत्तीको साढे ७ करोड बक्यौता

विद्युत् प्राधिकरणले सडक बत्तीको महसुल उठाउन सकिराखेको छैन। विगत ४ वर्षदेखि सडक बत्तीको महसुल बाँकी रहेको वितरण केन्द्रले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका र गाउँपालिकाले ४ वर्षदेखि सडक बत्तीको महसुल नबुझाएको लेखा अधिकृत ठाडाको भनाइ छ।

सडक बत्ती बापत नेपालगन्ज उपमहानगरपालिका र गाउँपालिकाले ७ करोड ४१ लाख १८ हजार रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको छ। ‘बुझाउन ताकेता गरेपनि बुझाउने संकेत देखिएको छैन,’ उनले भने।

उनले जिल्ला प्रशासन कार्यालय, कारागार शाखा, भेरी अंचल अस्पताल, लगायत सरकारी कार्यालयले पछिल्लो समय नियमित रुपमा महसुल बुझाई रहेको बताए। ‘उद्योगहरुले पनि नियमित रुपमा विद्युत महसुल बुझाउँदै आएका छन्,’ ठाडाले भने।

मन्दिर र मस्जिदको रु. ३४ लाख असुल्न बाँकी

सरकारी कार्यालय र उद्योगहरुले नियमित रुपमा विद्युत महसुल बुझाएपनि मन्दीर र मस्जिदले भने महसुल बुझाउन आनाकानी गरेका छन्। नेपालगन्जस्थित बागेश्वरी मन्दीरले अहिलेसम्म एक पटक पनि विद्युत महसुल बुझाएको छैन।

जामा मस्जिदले पनि विद्युत महसुल बुझाउन बाँकी रहेको लेखा अधिकृत ठाडाको भनाई छ। बागेश्वरी मन्दीरले झन्डै १५ लाख र जामा मस्जिदले १५ लाख ६८ हजार रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी देखिन्छ। ‘मन्दीर र मस्जिदको गरी ३३ लाख ८० हजार रुपैयाँ महसुल असुल हुन बाँकी छ,’ उनले भने। मन्दीर र मस्जिदले प्रति युनिट ५ रुपैयाँ १० पैसामात्र महसुल तिर्नुपर्ने हुन्छ।

विद्युतबापत भारतलाई ७२ करोड भुक्तानी

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले भारतलाई ७२ करोड रुपैयाँ बुझाएको छ। भारतबाट विद्युत ल्याए बापत वितरण केन्द्रले भारतीय विद्युत निगमलाई उक्त रकम बुझाएको हो।

नेपालले भारतलाई प्रति युनिट १० रुपैयाँ २६ पैँसाका दरले विद्युत महसुल बुझाउँदै आएको छ। वितरण केन्द्रले हाल नेपालगन्जका लागि भारतको २० मेगावाट विद्युत प्रयोग गर्दै आएको छ। नेपालगन्ज क्षेत्रमा ४० मेगावाट विद्युत आवश्यक छ। हाल नेपालको २० मेगावाट विद्युत प्रयोग हुँदै आएको वितरण केन्द्र प्रमुख उमेश कुमार झाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.