|
फाइल फोटो

काठमाडौँ : आन्तरिक विवाद मिलाउन नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ। 

पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो। असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले सो निर्णय सच्चाउन माग गरेपनि थापाले नकारिदिएपछि विवाद बल्झिएको हो। 

नेता राणाले पार्टीमा आफूसँग परामर्श नगरी अध्यक्ष थापाले एकतर्फी रुपमा गरेको निर्णयले पार्टीलाई निरंकुश बनाउने बताउँछन्। संगठनलाई प्रजातान्त्रिक बनाउन आफ्नो पक्षले भूमिका निर्वाह गर्ने उनको भनाइ छ। पार्टी नेतृत्वको गलत निर्णयलाई नसच्याएमा केन्द्रीय कार्यसमितिको बैठकमा आफू सहभागी हुन नसक्ने उनी बताउँछन्। 

पार्टीमा १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा अहिलेसम्म चुनाव र मनोनयनमार्फत १५२ सदस्य पदपूर्ति गरिएको छ। पार्टीमा रिक्त रहेको ११ केन्द्रीय सदस्य भने असन्तुष्ट पक्षको सिफारिसमा मनोनयन गर्ने सम्भावना रहे पनि असन्तुष्ट पक्षले त्यसलाई नकारेपछि अध्यक्ष थापा अप्ठेरोमा परेका छन्।

संस्थापन तथा असन्तुष्ट दुवै पक्ष टसमस नभएपछि विवाद उत्कर्षतर्फ जाने खतरा बढेको छ। संस्थापन पक्षका अनुसार असन्तुष्ट पक्षले पार्टीले लिएका वैचारिक सिद्धान्तमा खासै फरक मत राखेको छैन तर चुनाव चिह्न गाईलाई परिवर्तन गरी हलो राख्नुपर्ने कुरा मात्र उठाएका छन्। संविधान संशोधनका विषयमा दुवै पक्ष मतैक्यता देखिए पनि सरकारमा सहभागी हुने विषयमा मतभेद कायमै छ। स्थानीय तहका छ प्रदेशमा भएका चुनावमा अपेक्षाकृत परिणाम प्राप्त गर्न नसकेपछि पार्टी नेतृत्वमाथि प्रश्न उठेको छ। 

आन्तरिक समस्यालाई समाधान गर्न विभिन्न तहमा छलफल जारी छ। त्यसका लागि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द तथा वरिष्ठ नेता राणाका बीच पनि वार्ता भएको छ। केन्द्रीय कार्यसमितिको बैठकअगावै विवाद सुल्झाउन पार्टीको विभिन्न तहमा बैठक बसिरहेको र दुवै पक्षलाई मिलाएर बैठकमा सहभागी गराउन मध्यमार्गी नेताले प्रयास गरिरहेको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए।  

केन्द्रीय समितिको बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ। पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी अहिले १५२ सदस्य रहेकामा अब पूर्व नेतालाई सहभागी गराउँदा करिब २०० जना थपिन सक्ने अनुमान गरिएको छ। 

देशभरका नेता तथा कार्यकर्ताले पार्टी एकताबद्ध भई बाँकी निर्वाचनमा सहभागी होस् र कुनै पनि हालतमा पार्टी नटुटोस् भन्ने चाहना राखेका नेता किरण गिरी बताउँछन्। दुवै पक्षका त्रुटीको समीक्षा गरी नयाँ समझदारी कायम गराउन समय थोरै छ। पार्टीले सरकारमा सहभागिता जनाउने विषयमा बैठकमा सहभागी नेताले गम्भीरतापूर्वक छलफल गर्ने भएकाले यो बैठकलाई महत्वका साथ हेरिएको छ। बैठकमा सहभागी हुन देशभरबाट नेताहरुको काठमाडौँ आउने क्रम शुरु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.