काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल पुग्ने ४ वटै टोलीको छिनोफानो भएको छ। समूह चरणका अन्तिम खेलहरु सकिएसँगै सेमिफाइनल पुग्ने ४ वटै टोलीको टुंगो लागेको हो।
आज भएका समूह चरणका खेलपछि सेमिफाइनलमा यूएईले समूह ‘ए’ को विजेता नेपालको सामना गर्ने टुंगो लागेको हो। नेपाल र यूएईले गत संस्करणको फाइनलमा पनि उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
फाइनल प्रवेशका लागि अर्को सेमिफाइनलमा ओमानले हङकङसँग खेल्नेछ।
समूह ए बाट समूह विजेताका रुपमा नेपाल र उपविजेताका रुपमा हङकङ तथा समूह बी बाट विजेताका रुपमा ओमान तथा उपविजेताका रुपमा यूएई सेमिफाइनलमा पुगेका हुन्।
आज भएको खेलमा साउदीलाई ६ विकेटले हराएर नेपाल अपराजित रहँदै सेमिफाइनल पुगेको हो।
साउदीको पराजयले हङकङ सेमिफाइनलमा पुग्न सफल भएको हो। वर्षा बाधक बन्दा खेल २० ओभरबाट छोट्याएर ८ ओभरमा खेलाइएको थियो।
आजै भएको समूह बी अन्तर्गतको खेलमा ओमानले कुवेतलाई ४६ रन तथा यूएईले कम्बोडियालाई ९ विकेटले पराजित गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।