|

 म्याग्दी : समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचिन सम्पदाहरु पनि पर्यटकहरुका लागि आकर्षणका केन्द्र बन्न सक्दारहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोट स्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ।

तत्कालीन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतको इतिहास १५औं शताब्दीका थापा राजाहरुसँग जोडिएको छ। पछिल्लो समय गण्डकी प्रदेश सरकार,बेनी नगरपालिका र समुदायले यो ठाउँलाई पर्यटकीय स्थल बनाउनका लागि लगानी गरिरहेका छन्।

यहाँ पूर्वाधारहरु निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेका हुन्।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ।

करिव ६ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकाको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन्। विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन्।

अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नविग्रने गरी  पुनः निर्माण गरिने भएको छ। सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।

नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनः निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए।

‘पुनः निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ। पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ’, वडाध्यक्ष कार्कीले भने, ‘ऐतिहासिक कोतको गर्वगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ।’

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ। ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताए।

समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ।

दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ। परम्परागत रूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षेत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको स्थानीय बताउँछन्।

‘उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायत नौ वटा हिमशृङ्खला छन्। दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य देख्न सकिन्छ। माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली। तल्लोपट्टी बेनी बजारको रमणीय दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ’, वडाध्यक्ष कार्कीले भने।

थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्गभवानी कोत परिसरका सम्पदाहरू विकाससँग जोडिन थालेका छन्। बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष रू. २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको  छ।

यसैगरी बेनी नगरपालिकाले पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरेको बेनी नगरपालिका वडा नं २ का  अध्यक्ष कार्कीले बताए। वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल खड्गभवानी कोत परिसर पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.