|

म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका वडा नं २ मा पर्ने सिमलचौरको कुकुरविसाउने सामुदायिक वनमा वैशाख ५ गते (बुधबार) रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

सिमलचौर लगाएत जिल्लाका पाँचओटा सामुदायिक वनमा लागेको डढेलोका कारण तुवालोले वातावरण प्रदूषित वनाउँदा आँखा दुख्ने,छाती पोल्ने,रुघाखोकी र ज्वरो आउने,दम बढ्ने लगाएतका विरामीहर बढेको पश्चिम म्याग्दीको दरबाङ अस्पतालका चिकित्सक यमन नेपालीले जानकारी दिए।

उनका अनुसार अहिले दैनिक ३० जना भन्दा बढी विरामीहरु वायु प्रदूषणबाट ग्रस्त भएका भेटिएका छन्।

चैतदेखि वैशाख पहिलो सातासम्म म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनहरुमा लागेको डढेलोका कारण दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ। बनमा डढेलो लागेपछि धुवाँ र तुवालोका कारण वातावरण विषाक्त बनेको र विरामीहुने क्रम पनि बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन्।

म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो  आगलागीका घटना भइरहेका छन्। सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ।

एक साताअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो। बुधबार  मुलछहरी सामुदायिक वनमा लागेको आगोले करिव डेढ सय हेक्टर वन क्षेत्र नास हुनुको साथै जंगली जनावरहरु वासस्थान छोडेर गाउँ पस्न थालेपछि गाउँलेहरु आतंकित भएका स्थानीयले बताएका छन्। 

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिनसुरक्षाकर्मी  तथा स्थानीय परिचालित भए। स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन सकेनन्। आगलागीबाट वनका बहुमूल्य जडीबुटी, जङ्गली जनावर र वन पैदावार नष्ट भएका स्थानीय भीमबहादुर रिजालले बताए।

यसैगरी पश्चिम म्याग्दीको निस्कोट,उपल्लो वदरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ। भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए।

“यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ,” अधिकारीले भने। उनका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधनको नष्ट गर्ने गरिएको छ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा १० लाख बजेटमा विभिन्न उपकरणसहितको साम्रगी व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ।

जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ। डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उनको भनाइ छ। जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयवासीसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उहाँले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.