|

पर्वत : सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले शुक्रवार सञ्चालन गरेको प्रवेश परीक्षामा एक सय जना भन्दा धेरै विद्यार्थीहरू सहभागी भए। कक्षा ६, ७, ८ र ९ मा भर्ना हुनका लागि पहिलो चरणमा फाराम भएकाहरूमध्ये एक सय बढीले परीक्षा दिए। विद्यालयमा भर्ना गर्नका लागि अभिभावकहरूको दबाब आउँदा क्षमता भन्दा बढी विद्यार्थी राख्ने गरी वैशाख १४ मा दोस्रो चरणमा प्रवेश परीक्षा सञ्चालन गर्न लागेको विद्यालयले बताएको छ।

जिल्लामा नै सबैभन्दा धेरै करिब एक हजार तीन सय जना विद्यार्थी अध्ययनरत विद्यालयमा वर्षेनी भर्ना हुन आउनेमध्ये अधिकांश बालबालिकाहरू निजी विद्यालयबाट आउनेहरू रहेका विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले बताए। यो वर्ष एक सय ५५ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा त्यो भन्दा धेरै सङ्ख्याका विद्यार्थीहरू भर्ना गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

‘एउटा कक्षालाई तीन सेक्सनमा विभाजन गरेर कक्षा चलाएका छौँ। एउटै सेक्सनमा ५० जना भन्दा बढी विद्यार्थी राखेर चलाएका छौँ। विद्यार्थी जति आए पनि विद्यालयमा उही सामान्य विद्यालयको जस्तै दरबन्दी हुँदा हामी विद्यार्थीको भिड थाम्नै नसक्ने अवस्थामा छौँ’, उनले भने, ‘हामीले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा कक्षा सञ्चालन गरिरहेका छौँ। सिकाई उपलब्धि दर पनि बढी भएकाले जिल्लाका विभिन्न ठाउँका सामुदायिक र निजी विद्यालयका विद्यार्थीको भीड लाग्ने गरेको छ।’

विद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षाको अनुगमनमा पुगेका कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले विद्यालयमा विद्यार्थीको अति उच्च चाप हुँदा पनि आवश्यकता अनुसारको दरबन्दी नहुनु दुःखद भएको बताए। माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भए पनि दरबन्दी थप्न पाउने व्यवस्था आफूहरूसँग नभएको उनको भनाइ छ।

नगरपालिकामा रहेका अन्य माध्यमिक तहमा माध्यमिक र निम्न माध्यमिक तहका दरबन्दी जति छन् नारायण माध्यमिक विद्यालयमा सोही दरमा तेब्बर बढी हुनुपर्ने भए पनि अन्यत्र बराबरकै दरबन्दीले कक्षा सञ्चालन गर्दा विद्यालय र शिक्षक दुवै समस्यामा रहेको सुवेदीको भनाइ छ। ‘यहाँको चाप हाम्रै आँखाले प्रत्यक्ष देखेका छौँ। तर दरबन्दी थप्ने अधिकार हामीसँग नहुँदा चाहेर पनि शिक्षक दिन सकिएको छैन’, उनले भने, ‘यहाँका शिक्षकले बरु लिजर पिरियड नै नराखेर भए पनि कक्षा चलाउनुभएको अवस्था छ। यही मिहिनेतले नै विद्यालय नगरपालिकाको गहना बनेको छ।’

सदरमुकाममै रहेको शिवालय माध्यमिक विद्यालयले पनि प्रवेश परीक्षा सञ्चालन गरेर विद्यार्थी भर्ना गरेको छ। गत बिहीबार पहिलो चरणमा प्रवेश परीक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले बताए।

सदरमुकाम कुश्मा बजारमा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएका सामुदायिक विद्यालय यिनै दुई वटा मात्रै हुन्। यी दुई विद्यालयको वरपर माध्यमिक तहसम्म नै कक्षा सञ्चालन गरिरहेका ६ वटा निजी विद्यालयहरू छन्। निजी विद्यालयहरू आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सामुदायिकमा नजाउन् भन्ने रणनीतिमा हुने नै भए। तर सामुदायिक विद्यालयहरूले आधारभूत तह (कक्षा १–५) सम्म सञ्चालित ‘फिडर’ विद्यालयबाट आउने केही र निजी विद्यालयबाट आउने अधिकांश विद्यार्थीहरूलाई नै भर्ना गर्दै आइरहेका छन्। नारायण मा.वि.का प्रधानाध्यापक रिजालले आफ्नो विद्यालयमा वर्षेनी भर्ना हुन आउने विद्यार्थीहरूमध्ये करिब ७० प्रतिशत निजी विद्यालयबाट नै आउने गरेका बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.