नेपालमा अरू प्रणाली पनि कारक

|

काठमाडौँ : एल निनो प्राकृतिक जलवायु परिस्थितिको एउटा हिस्सा हो। अमेरिकी जियोसाइन्स इन्स्टिच्यूटका अनुसार एल निनो र ला निना परिस्थिति प्रशान्त महासागरको समुद्री सतहको तापक्रममा वेला–वेला हुने परिवर्तनसँग जोडिएको छ, जसको प्रभाव संसारभरको मौसममा पर्दछ। 

एल निनोका कारण तापमान धेरै बढ्ने र ला निनाका कारण चिस्सिने गर्दछ। उष्णदेशीय (उष्णकटिबन्धीय) प्रशान्त भूमध्यीय क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना एल निनो हो। यो परिवर्तनका कारण तापक्रम सामान्यभन्दा ४ देखि ५ डिग्री सेल्सियस बढी हुनसक्ने जलवायु विश्लेषकहरूले बताएका छन्। 

एल निनोले मौसममा निकै गहिरो असर पार्छ। यो आउँदा विश्वभरको मौसम प्रभावित हुन्छ। यसले गर्दा वर्षा र गर्मी दुवैमा फरक देखिन्छ। यस्तो अवस्था हरेक वर्ष नभई ३ देखि ४ वर्षमा हुन्छ। एल निनोका वेला मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ। पूर्वदेखि पश्चिमतर्फ बहने हावा कमजोर हुन्छ र पश्चिमी प्रशान्त क्षेत्रमा हुने तातो सतहवाला पानी भूमध्यरेखाको साथमा पूर्वतर्फ बढ्न थाल्छ। 

तापक्रममा असर

विज्ञहरूका अनुसार एल निनोका वेला संसारभरको तापक्रम बढ्छ र ला निनाको समयमा घट्छ। एल निनो आउँदा तातो पानी थप फैलिएर सतहको नजिक रहन्छ र यसले वायुमण्डलमा थप गर्मी छाडी तातो वायु सिर्जना गर्छ। समुद्री सतहको तापक्रम बढ्नेदेखि सामुद्रिक जीवजन्तुमाथि यसको निकै नराम्रो असर पर्छ। माछा लगायतका जलचर औसत आयु पूरा हुनुअघि नै मर्न थाल्छन्। यसको असरले कम वर्षा हुने ठाउँमा धेरै वर्षा हुन्छ। 

विश्वव्यापी रूपमा सन् २०२३ ले सबैभन्दा तातो वर्षको रेकर्ड बनाएको थियो। २०१३ को फेब्रुअरी महिनामा १२२ वर्षयताकै सबैभन्दा धेरै तातो एवं गर्मी भएको थियो। सन् २०२० देखि २२ को बीचमा संसारले ला निना अवस्थाको असामान्य रूपमा लामो अवधिको अनुभव गर्‍यो, जसले विश्वव्यापी तापमान नियन्त्रण गर्न राख्न मद्दत गर्‍यो।

कार्बनडाइअक्साइड (सिओटी) स्तर

वैज्ञानिकहरूले एल निनो परिस्थितिमा सम्भवतः उष्णकटिबन्धीय क्षेत्रमा न्यानो र सुक्खा अवस्थाको परिणाम स्वरूप वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर बढ्ने पत्ता लगाएका छन्। खडेरीका कारण ढिला हुर्कने बिरुवाले कम मात्रामा कार्बनडाइअक्साइड ग्रहण गर्छन् भने दक्षिण एशिया जस्ता ठाउँमा जंगली डढेलोसँगै अधिक सिओटी उत्सर्जन हुन्छ भन्ने पनि वैज्ञानिकहरूले मानेका छन्। 

सन् २०१५–१६ मा एल निनोका कारण देखापरेको चरम खडेरी र बाढीले ६ करोडभन्दा बढी मानिसको खाद्य सुरक्षालाई असर गरेको संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले जनाएको छ।

नेपालमा एल निनोको कस्तो असर पर्छ ?

नेपालको मौसम प्रणाली हेर्दा सुक्खा खडेरी, कम वर्षा हुनुको शतप्रतिशत कारण एल निनो नै मान्न नसकिने जलवायु विज्ञान महाशाखा एवं विश्लेषण शाखाकी प्रमुख विभूति पोखरेलले बताइन्। ‘सामान्यतया एल निनोका वेला सुक्खा खडेरी बढ्ने, कम वर्षा हुने हुन्छ तर नेपालको मौसम प्रणालीमा यो जरुरी छैन’‚ जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी समेत रहेकी पोखरेलले भनिन्‚ ‘शतप्रतिशत एल निनोले नै गर्दा कुनै वर्ष पानी नपरेको वा परेको भन्ने छैन। यसमा अरू धेरै प्रणालीले पनि काम गरेको हुन्छ।’ 

उनका अनुसार मनसुन अवधिभर वर्षा हुने गर्दछ। मनसुनका वेला पूर्वी वायुले पश्चिमी वायुलाई धकेल्दै देशभर सक्रिय बनाइदिन्छ। अरब सागर र बंगालको खाडीबाट ल्याएर जलवाष्पयुक्त हावा बनाई वर्षा गराउँछ। नेपालमा मनसुन सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ सम्म रहन्छ। यसरी मनसुनको अवधि ११२ दिनको हुन्छ।

नेपालमा सबैभन्दा छोटो मनसुन ७३ दिन सन् १९७९ मा र सबैभन्दा लामो १३० दिनको अवधि सन् २००८ मा रेकर्ड गरिएको थियो। गतवर्ष पूर्वी नेपालमा एक दिन ढिला गरी जुन १४ मा भित्रिएको मनसुन १३ दिन ढिलो गरी अक्टोबर १५ मा पूर्वी नेपालबाट बाहिरिएको थियो।

ला निनाले के गर्छ ?

ला लिना भनेको स्पेनिश भाषामा सानी केटी हो। यसलाई कहिलेकाहीँ एन्टी एल निनो पनि भनिन्छ। यो परिस्थिति भूमध्यरेखीय प्रशान्त महासागर क्षेत्रको सतहमा निम्न हावाको दबावले पैदा हुनेगर्छ। ला निना बन्नुका पछाडि भिन्न भिन्न कारण हुन्छन् तर सबैभन्दा बलियो कारण जब ट्रेन्ड–विन्ड, पूर्वदेखि वहने हावाको निकै तीव्र गतिमा बग्दा समुद्री सतहको तापक्रम घट्न थाल्छ। यो घट्दो तापक्रमलाई नै ला निना भनिन्छ। यो अवस्था उत्पन्न हुँदा संसारभरकै तापक्रममा असर पर्दा र यसका कारण त्यसवर्ष तापक्रम औसतभन्दा धेरै चिसिन्छ। ला निनाका वेला पूर्वदेखि पश्चिमी वायु बलियो हुन्छ जसले तातो पानीलाई थप पश्चिम धकेलिदिन्छ। 

ला निनाको मौसमा असर

यसको असर विश्वभरमा आउने साइक्लोनमा पर्छ। यो आफ्नो गतिका साथ उष्णकटिबन्धीय चक्रपातको दिशामा परिवर्तन हुनसक्छ जसका कारण दक्षिण पूर्वी एशिया र उत्तरी अष्ट्रेलियामा उच्च आर्द्रताको अवस्था पैदा गर्छ। ला निनाका कारण इन्डोनेशिया र त्यसका आसपासका क्षेत्रमा भारी वर्षा हुनसक्छ भने इक्वेडर र पेरुमा खडेरी पर्न सक्छ। अष्ट्रेलियामा बाढी ल्याउने मुख्य कारण नै ला निना हुने गरेको छ र यसका कारण उत्तर पश्चिममा मौसम चिसो र दक्षिण पूर्वमा मौसम तातो हुने गर्छ। 

ला निनाका कारण उत्तरी यूरोप  विशेषगरी बेलायतमा कम जाडो र दक्षिण पश्चिमी यूरोपमा धेरै चिसो हुने गर्छ जसका कारण भूमध्यसागरीय क्षेत्रमा हिमपात हुन्छ। 
एल निनो र ला निना एपिसोडहरू सामान्यतया प्रत्येक दुईदेखि सात वर्षमा हुन्छन् र सामान्यतया नौ देखि १२ महिनासम्म रहन्छ। दुवै सामान्यतया ९ देखि १२ महिनासम्म रहन्छन् तर असामान्य रूपमा भने वर्षौसम्म पनि रहन सक्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.