|

काठमाडौँ : नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन र प्रसारण नगर्न आम सञ्चारमाध्यमलाई आग्रह गरेको छ। 

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले आइतवार काठमाडौंमा आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धमा अन्तरसंवाद आयोजना गरी समाजमा नकारात्मक असर पार्ने बिभत्स दृश्य भ्युज बढाउने नाममा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण नगर्न पनि सचेत गराएको छ।

कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल राखेर बिभत्स दृश्य लगायतका समाजमा नकारात्मक असर पार्ने कुरा जथाभावी प्रकाशन तथा प्रसारण नगर्न सचेत गराए। उनले पक्राउ पर्नेबित्तिकै अपराधी भनेर करार गर्ने काम नगर्न पनि सञ्चारमाध्यमहरूको ध्यानाकर्षण गराए।

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक भावनाको विकास गराउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कडा निगरानीमा राखी कारबाही गर्ने कामलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको बताए।

उनले भने, ‘घटनाको कमी होइन, त्यसलाई उच्च प्राथमिकता नदिँदा राम्रो हुँदो रहेछ भन्ने देखिन्छ। यसलाई एउटा सामान्य कर्नरमा राखिदियो भने राम्रो होला जस्तो लाग्छ। कुनै ठाउँमा दुर्घटना हुन पाएको हुँदैन, त्यहाँ लाइक र लाइभमा कति भ्युज आउँछ भनेर घुमाइराखेका हुन्छौँ, उद्धारतिर लाग्दैनौँ। त्यसले मानवीय संवेदनाका न्यूनतम कुरामा पनि हामी कहाँ छौँ भन्ने देखिन्छ। दुर्घटनाको कुरा जस्ताको तस्तै आउने र लाइभ गर्ने नभइदिए हुन्थ्यो भन्ने अपेक्षा हुँदो रहेछ। यस्ता बिभत्स दृश्यले समाजमा एकदम नकारात्मक असर पर्छ।’

प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले समाजमा नकारात्मक असर पुर्‍याउने खालका समाचार प्रसारण गर्न उपयुक्त नहुने तर्क गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.