|

सर्लाही : सर्लाहीसहित तराई क्षेत्रमा तातो हावाले जनजीविका प्रभावित भएको छ। सर्लाहीमा एक सातादेखि दिनभरि चर्को घाम र तातो हावा चल्न थालेपछि जनजीवन प्रभावित भएको छ।

चर्को घाम र तातो हावाले कामका लागि घरबाहिर जानुपर्ने‚ बजार जानुपर्ने सर्वसाधारण र मोटरसाइकल सवार धेरै प्रभावित भएका छन्। अझ खासगरि मजदुर र खेतबारीमा काम गर्नुपर्ने किसानलाई चिकित्सकले अहिले चलेको तातो हावा असाध्यै खराब रहेकाले सकेसम्म घरभित्रै बस्न सुझाव दिएका छन्।

नगर अस्पताल ईश्वरपुरका इन्चार्ज डा. दीर्घनारायण दासले धुलोसहित तीव्र वेगमा तातो हावा चल्दा मानिसमा धुलो तथा गर्मीजन्य सङ्क्रमण बढ्ने जोखिम हुने बताएका छन्। उनले यस्तोमा सकेसम्म घरभित्रै बस्न, प्रशस्त पानी पिउन, जेपायो त्यही खानेकुरा नखान सुझाव दिएका छन्।

डा. झाले गर्मी र तातो हावाका कारण टाउको दुख्ने, शरीर थाक्ने, घाँटी दुख्ने, आँखा पोल्नेजस्ता समस्या बढ्ने बताए। यस्तो मौसममा बालबालिका, वृद्धवृद्धा र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुले अझ धेरै ख्याल गर्नुपर्ने उनको भनाइ छ। 

तेज गतिमा तातो हावा चल्न थालेपछि तरकारी, मकैलगायत बालीनाली सुक्ने भन्दै किसान चिन्तित भएका छन्। हरिपुर नगरपालिका–२ सखुवा मौजाका ध्रुवप्रसाद प्रसाईंले धेरै तातो हावा चल्दा वर्णशङ्कर (हाइब्रिड) मकै सुक्ने चिन्ता व्यक्त गरे। 

तीव्र गतिमा हावाहुरी चल्दा आगलागीको जोखिम अत्यधिक रहेकाले चुह्लोमा खाना तथा कुँडो पकाएपछि राम्रोसँग आगो निभाउन, बालबालिकालाई आगो लाग्ने र बाल्ने कुरा नदिन, चुरोट तथा बिँडी पिएर जथाभावी नफाल्न र वनमा डढेलो नलगाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.