दैलेख : बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन्। बारीमा काम गर्दै गर्दा जङ्गलबाट आएको बँदेलले आक्रमण गर्दा यहाँको भैरवी गाउँपालिका–६ का सात जना स्थानीय घाइते भएका हुन्।
बारीमा काम गरिरहेका बेला मङ्गलवार बिहान उनीहरूलाई बँदेलले आक्रमण गरेको भैरवी गाउँपालिका–६ का वडा अध्यक्ष तुलबहादुर हमालले बताए। घाइते मध्ये एक जनालाई बढी चोट लागेको र अन्य छ जना सामान्य छन्।
बँदेलको आक्रमणबाट भैरवी–६ मा सात जना स्थानीय घाइते भएका दैलेख प्रहरीले जनाएको छ। ‘बँदेलले आक्रमण गर्दा सात जना घाइते भएका छन्। घाइते सात जना मध्ये एक जनालाई धेरै चोट लागेको छ। अन्य छ जनालाई सामान्य चोट छ।’, दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले भने
बँदेलको आक्रमणबाट घाइते हुनेहरूमा भैरवी–६ का रत्न बराल, तिलक पौडेल, गणेश सिजाली, पूर्ण सिजाली, तर्क पुन मगर, लक्ष्मण पुन मगर र जय बहादुर थापा रहेका वडा अध्यक्ष हमालले बताए। घाइते मध्ये गणेश सिजालीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
पछिल्ला वर्षहरूमा दैलेखमा जङ्गली जनावर बँदेलले किसानले लगाएको खेतीपातीमा ठुलो क्षति पुर्याउँदै आएको छ। बँदेलले सिजन अनुसारको खेती नष्ट गर्न थालेपछि किसानहरूले खेतबारी बाँझो छोड्न थालेका छन्। सरकारले बँदेल रोकथामका लागि योजना बनाएर लाग्नुपर्ने किसानहरूको माग छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।