|

कुरा सुन्दा नै उदेक लाग्छ। किन्नै नमिल्ने मूल्यवान मात्र होइन, अमूल्य सृजना अथवा प्रतिभा पनि पैसाले किनबेच गरिन्छ। किनबेचबाट सृजनाको मूल मर्मको कालोबजारी हुन्छ। सर्जक हुनुमा अग्लिएको शिर पनि यस्तो अवस्थामा उत्तिकै ग्लानि र आत्मपीडाले उत्ति नै तल झुक्छ। 

समाज सृजनशील बन्नु पर्ने कुरा बारम्बार भनिँदै, लेखिँदै आएको छ। तर त्यही सृजना वर्सेनिजसो कुनै न कुनै नाममा पैसासँग किनबेच हुँदै अपमान झेल्दै आएको अवस्थामा यसबेला पुनः त्यही प्रसंग आएको छ। 

भाषा, साहित्य, कला, संस्कृतिको मर्मको पाटोमा गहन रूपले हेर्ने र चेतनाको विकासलाई जोड दिँदै समाज चेतनशील, सृजनशील र कर्मशील बनाउने कुरा आजको टड्कारो आवश्यकता हो। मान्छेहरू पैसामुखी हुँदै समाजलाई त्यतै डोहोर्‍याउँदै तत्काल उपलब्धि हात पर्ने काममा मात्र लाग्ने चिन्तनले हस्तक्षेप गरिरहेको विडम्बनापूर्ण स्थिति छ। यसखाले प्रवृत्तिमा भ्रष्टाचार, अत्याचार, अनियमितता, बेथिति मौलाउने गर्छन्। 

अर्धसामन्ती चिन्तनबाट गुज्रिएको समाजमा हुर्किएका हामीबीच सृजनशीलताले महत्त्व पाएको छैन। अग्रजले टीका लगाएर आशीर्वाद दिँदा ‘ठूलो मान्छे हुनू, धेरै पैसा कमाउनू’ भन्ने कुराले हाम्रो बालसुलभ मस्तिष्कमा जसरी पनि धेरै पैसा कमाउने भन्ने सिकाइ पर्न जान्छ। जीवनयापन गर्न पैसा आवश्यक परे पनि पैसा नै सबैथोक हो भन्ने कुराले प्राथमिकता पाउँदा समाजमा मान्छेले मान्छेलाई उचाल्ने, पछार्ने, मिच्ने र ठूलाठूला अपराध गर्ने प्रवृत्ति हावी हुन्छ।

यसकारण यो समाजलाई मात्र प्रेम, सद्भाव, सहयोग, इमानको समतामूलक समाजतर्फ उन्मुख बनाउन चेतनाको विकास अत्यन्तै आवश्यक छ। सृजनशील काम गरेर समाजलाई सृजनशीलतातर्फ डोहोर्‍याउने सूत्र प्रत्येक जीवनका सूत्र बन्नुपर्छ। 

ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ भन्ने मूलमन्त्र समाजमा स्थापित गर्नुपर्छ। तर भन्नचाहिँ माथि भनेकै कुरा फूलबुट्टा भरेर भन्ने तर व्यवहारमा भने पैसा खर्च गर्न नसक्ने मानिस अगाडि बढ्नै नसक्ने तगारो लिएर टेलिभिजनका पर्दाहरूमा देखिने ‘रियालिटी शो’हरू हेर्दा र त्यसको तरिका बुझ्दा निकै दुःख लाग्छ र उत्तिकै आक्रोशसमेत पैदा हुन्छ।

यसबेला एपी वान टेलिभिजनमार्फत् प्रसारित ‘नेपाल आइडल’को कार्यक्रम गीतसंगीत अनि सृजनाप्रेमीहरूमा चासोको विषय बनेको छ। को बन्ला आइडल? भनेर उत्तिकै उत्सुकता छ। आइडलको चरण एसएमएस भोटिङको लहरमा छ। यो लहरले पैसा नहुनेहरूको सपनाको रहर अधुरो बनाइदिएको छ। आफूसँग भएको प्रतिभालाई निस्तेज पारिदिएको छ। अरूभन्दा राम्रा सिर्जना ‘डेन्जर जोन’मा परेर बाहिरिएका छन्। अर्थात धेरै पैसा खर्च गरेर एसएमएस भोटिङ गर्न नसक्ने प्रतिभाहरू प्रतिभा भएरै पनि बाहिरिएका छन्।

यो लेखक त्यो प्रतियोगिताका केही प्रतियोगीको प्रतिभाका बारेमा पहिलेदेखि नै जानकार छ। त्यही प्रतियोगिता हेरेपछि थप अरूका प्रतिभाका बारेमा पनि जानकारी पाइयो।

झापा दमकमा रहेको सुरभि कला केन्द्रमा गायन सिक्न सेतो छडीको सहारामा आफ्ना आँखालाई कालो चस्माले छोपेर आउने गरेकी बिर्तामोडकी मेनुका पौडेलको लगाव र उन्नत प्रतिभा नजिकबाट नियालेको छु मैले। उनको आँखाले देख्न नपाएको संसारलाई मनको सांगीतिक आँखाले नियालेर अझ फराकिलो बनाउने उनको सपना रेडियो नेपालको गायन प्रतियोगितासम्म उक्लियो। प्रथम पुरस्कार हात पारेको समय उनका लागि अत्यन्तै उत्साहप्रद र गर्वको समय थियो।

कस्तो मार्मिक कुरा छ! सामान्य परिवारका निशानका बाबुले छोरो नेपाल आइडल बनाउने एसएमएस गर्नका लागि घरमा भएको लैनो गाई ६० हजार रुपैयाँमा बेचे। यति गर्दा पनि आफ्नो छोराको आफैँमा बेजोड प्रतिभाको बाटो प्रष्ट खुल्न सकेको छैन। पैसाको साँघुरो घेराले रोक्न खोजिरहेको छ। निशान त पाँच वर्ष अघि ‘सिङ्गिङ आइकन’ नामको यस्तै खाले प्रतियोगितामा आयोजक बेपत्ता भएपछि धोका खाएका गायकमध्ये एक हुन्।

मोरङ उर्लाबारीका निशान भट्टराईको उस्तै गायन क्षमताबाट पनि प्रभावित हुँदै आएको हुँ म। म मात्र होइन, हजारौँले यी दुईको गायन क्षमताबारे यस्तै प्रतिक्रिया दिने गरेका छन्। यसबेलाको नेपाल आइडलमा यी दुई प्रतिभाले निर्णायकको मनमा समेत बढी ठाउँ ओगटेका छन्। मेनुकालाई ‘कोइली’ र निशानलाई ‘गायन क्षेत्रको शान’का रूपमा निर्णायकहरूले उपमा नै दिएका छन्। श्रोताको पनि उसैगरी मनभरि छाइरहेका छन् यिनीहरू। तर उनीहरू नै एसएमएस भोटिङको ‘डेन्जर जोन’मा छन् अहिले। 

मेनुका प्रतियोगिताको १२औँ प्रतिष्पर्धीबाट कम भोट आएकै आधारमा बाहिरिइ नै सकिन्। उनी बाहिरिँदा सबै स्तब्ध मात्र होइन, आँसुआँसु भए। तर मेनुकाले आफ्नो मन दह्रो बनाइन्। भोटिङको कारण आफू बाहिरिनु विडम्बना भएको बुझे पनि आफूसँग भएको प्रतिभाले ठाउँ पाएरै छोड्ने आत्मविश्वास देखाइन् उनले।

निशानले निकै पुराना मार्मिक शब्दका गीत सहज रूपमा गाएर गायनको आफ्नो प्रखर क्षमता देखाएका छन्। उदितनारायण झाको झल्को दिँदै ‘यो गाउँको ठिटो म’ गाएर औधी प्रशंसा बटुले उनले। निर्णायक न्हू बज्राचार्यसमेत चकित भए उनको गायकीबाट। इन्दिरा जोशी मन्त्रमुग्ध बनिन्। कालीप्रसाद बाँस्कोटाले तारिफ गर्नबाहेक केही भन्ने ठाउँ देखेनन्। तीनै जना एकसाथ उठेर उनको गायकीप्रति सम्मान जनाउँदै एक जना बेजोड प्रतिभाको आगमन भएकोमा तारिफ गरे। 

कस्तो मार्मिक कुरा छ! सामान्य परिवारका निशानका बाबुले छोरो नेपाल आइडल बनाउने एसएमएस गर्नका लागि घरमा भएको लैनो गाई ६० हजार रुपैयाँमा बेचे। यति गर्दा पनि आफ्नो छोराको आफैँमा बेजोड प्रतिभाको बाटो प्रष्ट खुल्न सकेको छैन। पैसाको साँघुरो घेराले रोक्न खोजिरहेको छ। निशान त पाँच वर्ष अघि ‘सिङ्गिङ आइकन’ नामको यस्तै खाले प्रतियोगितामा आयोजक बेपत्ता भएपछि धोका खाएका गायकमध्ये एक हुन्। उनी त्यो बेला पनि उत्कृष्ट छमा परिसकेका थिए। त्यहाँ पनि यस्तै भोटिङको कुरा नहुने त कुरै थिएन। आखिर प्रतिभा भन्ने चिज आर्थिक सम्पन्न मानिसमा मात्र हुने हुँदै होइन। अझ आर्थिक विपन्न परिवारका मानिसमा चाहिँ बढी प्रतिभा, सृजनशीलता देखिने गरेको छ। 

जहाँ अभाव या समस्या हुन्छ, त्यहीँबाट उसले आफूलाई सृजनशील र संघर्षशील बनाउन थाल्छ र सफलता हाँसिल गर्ने प्रयत्न जारी राख्छ। पीपल ढुंगाको काप फोरेर उम्रिन्छ। सुनाखरी पहरामा फुल्छ। आफ्नो भन्ने चिज केही नहुनेले गुमाउँदा गुम्ने केही हुँदैन, तर पाउँदा उसका अगाडि सारा संसार उसकै लागि प्रतीक्षारत हुन्छ।

यस्ता प्रतियोगिताका नाममा आयोजकले धेरैभन्दा धेरै एसएमएसमा अरूका पैसा खर्च गराएर टेलिफोन कम्पनीसँग एसएमएसको कमिसन लिने–दिने सम्झौतामा अव्बल प्रतिभाको निर्ममतापूर्वक घाँटी रेट्नु संसारको सबैभन्दा ठूलो हत्या हो। हुनत यो आइडल मात्र होइन, नेपालमा जसले जेजे नामका आइडल सञ्चालन गरे पनि सबैले पैसा हुनेलाई छान्ने प्रणालीलाई गर्वसाथ आत्मसात गरेर अरूको प्रतिभा उजागर गरेको वकालत गरिरहेका छन्। 

नेपाली मूलका प्रशान्त तामाङ नेपालीहरूले एसएमएस नगरेको भए दोस्रो इन्डियन आइडल बन्ने थिएनन् होला भन्ने कसैको प्रतिवादी प्रश्न आउला। त्यो निर्णय हामीले सोचेको पक्षमा आयो र हामीले त्यसलाई ठीक मान्यौँ होला। नेपालीभाषीहरूको एकताले त्यहाँ बढी मात्रामा भावनात्मक साइनो गाँसेर हामीले भोट वर्सायौँ होला। तर प्रक्रियागत हिसाबले त्यो पनि ठीक थिएन नै। 

यसखाले भोटिङ प्रणाली भारतसहितका केही देशमा छ। आफूभन्दा विकसित र जान्ने जस्ता लाग्ने देशले चलाएको चलनकै भरमा हामीले यसलाई आत्मसात गर्नु आफू विवेकहीन हुनु हो। बरु रियालिटी शोमा प्रत्यक्ष सहभागी भएर प्रस्तोताका प्रतिभा नियालेका, गीतसंगीतको मर्म बुझेका मानिसहरूबाट ठाउँका ठाउँ निर्णायक मत लिनुचाहिँ सान्दर्भिक हुन्छ। त्यसभन्दा बाहिर गएर जसले बढी पैसाको रिचार्ज किनेर एसएमएस गराउन सक्छ, उही उत्कृष्ट मान्ने खेल केटाकेटीले भाँडाकुटी खेलेसरह हो।

विदेशको उदाहारण छाडेर नेपालका मात्र त्यस्ता आइडलको उदाहरणले हामीलाई प्रतिभाको मर्म बुझ्न पर्याप्त हुन्छ। विपन्न परिवारका नेपाली भाषा साहित्यका आइडल लक्ष्मीप्रसाद देवकोटा पैसा खर्च गरेर आइडल अर्थात् महाकवि कहलिएका हुन्? बोली नआउने, खान, बस्न गाह्रो हुने शारीरिक दुर्बलता आर्थिक विपन्नताको समेत शिकार भए पनि मनभित्र सबल सृजनाका अनगिन्ती खात बोकेकी धनकुटाकी झमककुमारी घिमिरेले कति पैसा खर्च गरिन् र आइडल बनिन्? बोली नबुझिने र लेख्नै नसक्ने मोरङ बेलबारीका वियोग सापकोटाको प्रभावकारी कविता कथ्ने आइडल प्रतिभाको मुहान पैसाले खोलिदिएको हो र?

पहिलो नेपाल आइडलको प्रतिष्पर्धा हुँदा दीपक लिम्बूले उपाधि जिते। इन्दिरा जोशी र रूपक डोटेल दीपकभन्दा पछि परे। अर्थात् इन्दिरा पनि त्यो बेलाको प्रतिष्पर्धादेखि चिनिन थालेकी हुन्। सायद उनी पनि एसएमएस भोटिङ गराउने काममा अलि कमजोर बनिन्। यसकारण पनि उनै इन्दिरा निर्णायक बसेको ठाउँमा उही पैसाको भोटिङको कुराले प्रतिभा पछारिइरहेको हेर्दा उनलाई नराम्रो लागेको छ कि छैन?

मिस नेपाललगायतका विभिन्न जात, थरका यसखाले गायन, नृत्य, मोडलिङसहितका रियालिटी शोहरू एसएमएस भोटलाई प्राथमिकतामा राखेर नोट आर्जनमा केन्द्रित गरेर सृजनाको अमूल्यपनमाथि खेलबाड गरिरहेका छन्। झापा र मोरङमा हुने गरेका बालबालिकाको प्रतिभा प्रष्फुटन गराउने नाममा पनि बढी पैसा दिनेलाई प्रतिभाका रूपमा छानेर अगाडि बढाउने काम जारी छ। 

बढी पैसा खर्च गर्न सक्ने आधारमा प्रतिभा छान्ने यसखाले व्यापारको भित्री पाटो बुझेर सरकारले भोटिङ प्रणालीलाई बन्द गराउन सक्नुपर्छ। सर्जकका बहुमूल्य सृजनाहरूलाई व्यावसायिक उचाइमा समेत पुर्‍याउने कुरालाई उस्तै टड्कारो आवश्यकता ठानेर सरकारले ध्यान देओस्। नत्र सृजना प्रष्फुटन गराउने नाममा कोइलीहरू सधैँ विरह मात्र गाइरहनेछन्। शानहरू सधैँ अपमानित मात्र हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.