|

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०७९ को निर्वाचनमा गोरखा-२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छाड्नु आफ्नो गम्भीर गल्ती भएको बताएका छन्।

असल मनसायले प्रचण्डका लागि गोरखा छाडेर आफू चुनाव नउठे पनि परिणाम गलत आएको उनको भनाइ छ।

‘कहिलेकाहीं असल मनसायले गरेको कामको गलत परिणाम आउॅछ। जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउनु हुँदैन। मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा-२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ।’ भट्टराईले सामाजिक संजालमा लेखेका छन्। ‘साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट,अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गएको भट्टराईको टिप्पणी छ।  

‘उल्टै मैले उनलाई निःस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र वलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुङ्ग्याउनु सट्टा खेलवाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसंग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन ।’ उनले लेखेका छन्,‘मैले असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’

देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र साम/दान/दण्ड/भेदको दुष्चक्रमा फस्दै गएको,हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीब्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकांक्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगइ पार्टी र सडकका मन्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको भट्टराईले स्मरण गरेका छन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.