|

काठमाडौँ : पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वलाई पहिलो प्राथमिकतामा राखेर सोह्रौँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन्।

बिहीवार काठमाडौँमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार न्यूनीकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनमा जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताए।

उनले निरन्तर ५ प्रतिशतभन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे। कम लगानीबाट बढी प्रतिफल लिनेमा ध्यान दिन आवश्यक रहेको पनि बताए।

उनले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्ने कुरा योजनामा समावेश गर्न केले रोक्यो भन्दै प्रश्न गरे। उनले सबैको एजेण्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा विरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए। उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा भएको पनि बताए।

उनले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजनाभन्दा फरक बजेट बन्ने बताए। उनले संविधानले आत्मसात गरेका विषयहरू, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताए।

खतिवडाले भने, ‘हाम्रो संविधानले नै भनेको सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवाद उन्मुख राज्यप्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्ने लेख्नलाई केले छेक्यो होला? त्यो मैले अहिले पनि बुझिराखेको छैन। त्यो हामी सबैको साझा एजेण्डा हो। समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेण्डा हो। त्यही नारालाई अघि बढाउँदा कसैलाई काखा, कसैलाई पाखा हुँदैन थियो होला, त्यो लेख्न हामी किन हिच्किचाइरहेका छौँ। हामीले संविधानमा जे-जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्ववन गर्ने आवधिक योजना यही १६ औं योजना हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.