|

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन्।

बिहीवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहनेका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका छन्।

उनले बैठकमा बोल्दै श्रम स्वीकृति प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरूले एक घण्टामा दिँदा प्रक्रिया नपुर्‍याउने गरेको हो कि भनी प्रश्न उठाएका थिए। सांसदहरूले एक घण्टामा श्रम स्वीकृति दिन निकै कम समय भएको भन्दै आवश्यक कागजात अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकले दुःख नपाउने धारणा राखेका थिए।

त्यसपछि बोल्दै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे। उनले एक घण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेट ४४ सेकेण्डमै दिने गरिएको दाबी गरे। उनले सातै प्रदेशबाट श्रम स्वीकृति दिइएको बताए।

मन्त्री अर्यालले भने, ‘राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीचको द्वन्द्वको मार देश र जनतालाई पर्‍यो। हामीले विश्वास गरेर काम गर्नुपर्छ। हामीले उहाँहरूलाई प्रोत्साहित गर्नुपर्छ। मेडिकल व्यवसायीले यो मान्छे निरोगी छ भनेर पठाएपछि मेडिकल गरेको छ कि छैन हेर्नु बाहेक श्रमस्वीकृति दिने ठाउँलाई अन्य अधिकार छैन। आवश्यक कागजपत्र पुगेको छ कि छैन भनेर हेर्ने बाहेक श्रम स्वीकृति दिने अधिकारीसँग अरू अधिकार छैन। नबिग्रियोस् भनेर उहाँहरूलाई एक घण्टा समय दिएको हो। काम त २ मिनेट ४४ सेकेण्डमै भइराखेको छ।’

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्री भिसा, फ्री टिकटको कुरा गरिने भए पनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेको स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.