|

चितवन : चितवनमा ३२ जना प्रहरी कारबाहीमा परेका छन्। गएको एक वर्ष अवधिमा प्रहरी अचारणविपरीत क्रियाकलापमा संलग्न रहेका ती प्रहरीलाई कारबाही गरिएको चितवनका प्रहरी उपरीक्षक एसपी दीपक थापाले जानकारी दिए।

उनका अनुसार कारबाहीमा परेकामध्ये ४ जनालाई सेवाबाटै हटाइएको छ। पटक–पटक विभागीय कारबाही गर्दा पनि आचरण सुधार नभएको र अवाञ्छित क्रियाकलापमा समेत संलग्न भएकाले उनीहरुलाई बाध्य भएर हटाउनु परेको प्रहरी उपरीक्षक थापाको भनाइ छ। 

यस्तै १९ जनालाई नसियत दिइएको र २ जनाको तलब वृद्धि रोक्का गरिएको छ। एक जनालाई घटुवा गरिएको छ भने अर्का दुईजना निलम्बनमा परेका छन्। ४ जनाको तलब स्केल घटाइएको एपपी थापाले जानकारी दिए।

कारवाही पर्नेमा प्रहरी नायव निरीक्षकदेखि प्रहरी परिचरसम्मका छन्। सबैभन्दा बढी २२ जना प्रहरी जवान कारबाहीमा परेका छन्। सेवाबाट हटाइएमा चारैजना प्रहरी जवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यंकमा उल्लेख छ। नसियत कारवाही पर्नेमा पनि बढी जवान नै छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले गएको एक वर्षमा उत्कृष्ट काम गर्ने ४८ जना प्रहरीहरुलाई भने पुरस्कृत गरेको उनले जानकारी दिए। पुरस्कृत हुनेमा पनि सबैभन्दा बढी १६ जना प्रहरी जवान नै रहेका छन्।

यसैगरी एकजना प्रहरी नायव उपरीक्षक, ४ जना प्रहरी निरीक्षक, तीन जना प्रहरी नायव निरीक्षक, सातजना प्रहरी सहायक निरीक्षक, १५ जना प्रहरी हवल्दार र एकजना प्रहरी परिचर पनि पुरस्कृत भएका छन्। जिल्लामा विभिन्न क्षेत्रमा गरेर हाल ७८२ जना प्रहरी कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.