|

काठमाडौं : एनआईसी एशिया बैंक बिहीबारदेखि २० औं वर्षमा प्रवेश गरेको छ। मोरङको विराटनगरमा १९ वर्षअघि रजिष्टर्ड कार्यालयको स्थापना गरी मिति २०५५ साउन ५ गते क्षेत्रीय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंकको रुपमा स्थापना भएको थियो।

२०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशियासँग २०७० असार १६ गते मर्ज भएपछि एनआईसी एसिया बैंकको नामबाट कारोबार गर्दै आएको छ।

बैंकको हालसम्म ११९ वटा शाखा कार्यालय, ४ विस्तारित काउण्टर, ७० एटीएम तथा ४,००० रेमिट्यान्स काउण्टर रहेको छ। चालु आर्थिक वर्षभित्र शाखा संख्या २०० भन्दा बढी, एटीएम संख्या ४०० भन्दा बढी, शाखा रहित बैंकिङ सेवा २०० भन्दा बढी तथा रेमिट्यान्स पेमेन्ट एजेन्ट संख्या १०,००० भन्दा बढी कायम गर्ने लक्ष्य राखेको बैंकले विज्ञप्ति मार्फत जानकारी दिएको छ।

'बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा सानामझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ' प्रमुख सूचना अधिकृत रोसनकुमार न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'फलस्वरुप गत आर्थिक वर्षमा ति क्षेत्रहरुमा उत्साहजनक नतिजाहरु हासिल गरेको छ।'

बैंकले इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतिको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा नेपालमा नै पहिलो पटक सुरु गरेको दावी गरेको छ। बैंकले पूर्णतया अनलाइन आस्बा प्रणाली मार्फत शेयर आवेदन, अनलाइन खाता खोल्न सकिने सुविधा तथा छिटो छरितो कर्जा स्वीकृतिको लागि स्कोर कार्ड मोडल लागू गर्ने प्रक्रिया अन्तर चरणमा पुर्‍याएको पनि जानकारी दिएको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वातावरण, स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता एवम् वित्तीय समावेशी करण र खेलकुद क्षेत्रमा आफ्नो योगदान अझै सशक्त बनाउने पनि जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.