|

  • नमीन ढकाल

इलाम : स्नातक तह दोस्रो वर्षअन्तर्गत शिक्षाशास्त्र संकायको इन्टरनेशनल पोलिटिक्स विषयको परीक्षा दिन मंगलबार परीक्षा हलमा पुगेका महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका विद्यार्थीहरुको हातमा अर्कै विषयको प्रश्नपत्र पर्‍यो। उनीहरुलाई पोलिटिक्स अफ नेपाल भन्ने विषयको प्रश्नपत्र वितरण गरियो।

आफूले पढ्दै नपढेको विषयको प्रश्नपत्र दिइएपछि परीक्षार्थीहरु अलमलमा परे। नपढेको विषयको परीक्षा कसरी दिनु? ६८ जना विद्यार्थी परीक्षा नै छाडेर बाहिरिए। विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेपछि क्याम्पसले सो विषयको परीक्षा स्थगन गरेको बतायो। क्याम्पसले परीक्षा स्थगन भएको त भन्यो, तर विद्यार्थीहरु अब के हुने हो भन्ने चिन्तामा छन्।

यस विषयमा जिज्ञासा राख्दा क्याम्पस प्रशासन त्रिभुवन विश्वविद्यालयको लापरबाहीका कारण यस्तो भएको आरोप लगाउँछ। ‘क्याम्पसमा आएको ४ वर्षे स्नातक तह शिक्षाशास्त्र संकायअन्तर्गत दोस्रो वर्षको पाठ्यक्रमसम्बन्धी संशोधनको पत्रमा इन्टरनेशनल पोलिटिक्स (कोड नं ४२८) भन्ने विषय सामेल रहेकाले सोहीअनुसार अध्यापन गराई विद्यार्थीहरुलाई परीक्षमा सामेल गराइएको हो,’ क्याम्पस प्रमुख धनबहादुर न्यौपानेले भने, ‘पोलिटिक्स अफ नेपालको प्रश्नपत्र आएपछि डिन कार्यालयसंग सम्र्पक गरेर परीक्षा रोक्न लगाइएको छ। यस विषयमा डिन कार्यालयमा गएर समाधान गरिनेछ।’

यता परीक्षा नियन्त्रण कार्यालय बल्खुले भने यसविषयमा अनुसन्धान भइरहेको जनाएको छ। ‘क्याम्पसबाट रिपोर्ट आएको छ, डीन कार्यालयले यो विषयमा अध्ययन गरिरहेको छ,’ परीक्षा नियन्त्रण कार्यालय बल्खुका सहायक परीक्षा नियन्त्रक पशुपति अधिकारीले थाहा खबरसँग भने, ‘विश्वविद्यालयले बनाएको कोर्शअनुसार नै परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र बनाउने हो। दोस्रो वर्षमा त्यो विषय नै छैन, क्याम्पसले कसरी पढायो भन्ने बुझ्नुपर्छ।’ अध्ययनपछि मात्र थप प्रतिक्रिया दिन सकिने उनको भनाइ छ।

विद्यार्थीहरु भने क्याम्पस प्रशासन जिम्मेवार नहुँदा आफूहरु समस्यामा परेको बताउँछन्। ‘एक वर्षसम्म एउटा विषय पढियो, अर्कै विषयको प्रश्नपत्र आएकाले हामीले परीक्षा हल छाडेका हौँ,’ परीक्षार्थी सरोज लिम्बूले भने, ‘जुुन विषय अध्यापन गराइएको छ, सोही विषयको प्रश्नपत्र आए परीक्षामा सहभागी हुन्छौं।’ पढ्दै नपढेको विषयको परीक्षामा भने आफूहरु सहभागी नहुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.